काठमाडौं, ७ जेठ । लुम्बिनी केबलकारले बुटवलमा परीक्षण सुरु गरेको छ। बुटवल उपमहानगरपालिका–३, बमघाटमा तल्लो स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका वडा–३, वसन्तपुरमा अन्तिम स्टेसन रहेको केबलकारको लम्बाइ कुल दुई किलोमिटर छ सय मिटर छ। अहिले केबलकारको परीक्षण सञ्चालन भइरहेको र जेठ १५ देखि व्यावसायिक रूपमा सञ्चालन गर्ने तयारी गरिएको लुम्बिनी केबलकार प्रालिले जनाएको छ।
विसं २०७७ मा शिलान्यास भएको करिब तीन वर्ष तीन महिनापछि केबलकार उद्घाटन गरिने भएको छ। लुम्बिनी केबलकार प्रालिका आयोजना प्रमुख गोकुल साउदले जेठ १५ गतेबाट केबलकार व्यावसायिक रूपमा सञ्चालन हुने बताउनुभयो।
लुम्बिनी केबलकारको कुल लागत साढे तीन अर्ब रुपियाँ रहेको छ। केबलकार सञ्चालनसँगै टप स्टेसनमा बन्दै गरेको कामाख्या मन्दिरमा एक हप्तासम्म पूजाआजा गर्ने कार्यक्रम छ। यसअघि वैशाखमा सञ्चालनमा ल्याउने भनिए पनि प्राविधिक काम सम्पन्न नभएकाले जेठ दोस्रो सातादेखि सञ्चालनमा ल्याउने गरी धमाधम काम भइरहेको आयोजना प्रमुख साउदले जानकारी दिनुभयो।
केबलकार सञ्चालनमा आएसँगै वसन्तपुर डाँडामा पाँचतारे होटल, बाल उद्यान, जिपलाइनलगायत संरचना निर्माण हुने उहाँले बताउनुभयो। लुम्बिनी केबलकारमा ‘मोनोकेबल डिट्याचेबल सिस्टम’ का २५ वटा ‘गोन्डाला’ रहेका र यिनबाट दैनिक छ हजार यात्रु ओसारपसार गर्न सकिने बताइएको छ।