काठमाडौं । सरकारले जलवायु परिवर्तन न्यूनीकरणका लागि प्रतिबद्धता सहितको ‘तेस्रो राष्ट्रिय निर्धारित योगदान (तेस्रो एनडीसी)’ पुस्तक सार्वजनिक गरेको छ । काठमाडौंमा शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादको उद्घाटन सत्रमा सरकारले तेस्रो एनडीसी सार्वजनिक गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो एनडीसीको पुस्तक कोप–२९ अध्यक्ष मुख्तर बबयभलाई हस्तान्तरण गरे । यसलाई बुधबारको मन्त्रिपरिषद् बैठकले यूएनफसीसीसीको सचिवालयमा पठाउन स्वीकृति प्रदान गरेको थियो ।
जलवायु परिवर्तन न्यूनीकरण, अनुकुलन तथा वित्तीय व्यवस्थापनको विस्तृत खाकासहित सन् २०३५ सम्मको दिगो विकास लक्ष्य, घरेलु तथा अन्तरर्राष्ट्रिय वित्तीय स्रोतको परिचालन तथा स्थानीय तहसम्म जलवायु कार्यान्वयनको योजना समेटेर तेस्रो एनडीसी तयार गरिएको छ । विश्वको तापमान वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसभित्र सीमित राख्न विश्वव्यापी प्रयासलाई सहयोग गर्दै नेपालले जलवायुजन्य संकट व्यवस्थापनमा योगदान गर्ने लक्ष्य लिइएको छ ।
हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान भए पनि नेपालले आफ्नो परिमाणात्मक न्यूनीकरण लक्ष्य र नीति तथा उपायको दायरा विस्तार गरेको छ । तेस्रो राष्ट्रिय निर्धारित योगदानले सन् २०३५ सम्मको लक्ष्य निर्धारण गरेको छ । सन् २०४५ सम्म नेट–शुन्य कार्बन उत्सर्जन प्राप्त गर्ने लक्ष्यसहित, सरकारले ऊर्जा, यातायात, उद्योग, कृषि, वन, जल स्रोत, सहरी पूर्वाधार र सांस्कृतिक सम्पदामा प्रभावकारी कदम चाल्ने नीति लिएको वन तथा वातावरण मन्त्रालयका उपसचिव नरेश शर्माले जानकारी दिए ।
त्यसैगरी, तेस्रो राष्ट्रिय निर्धारित योगदानले ट्रान्समिसन र वितरण प्रणालीमा सुधार गर्दै कुल ट्रान्समिसन र वितरण हानिहरूलाई सन् २०३० सम्म ११ दशमलव ५० प्रतिशत र सन् २०३५ सम्म १० दशमलव ५० प्रतिशतमा घटाउने लक्ष्य राखेको छ । ग्रामीण भेगमा विद्युत् विस्तार तथा सौर्य तथा जलविद्युत प्रवद्र्धन र २०३५ सम्म विशेष आर्थिक क्षेत्रमा फोहोरदेखि ऊर्जा प्लान्ट स्थापना गर्ने लक्ष्य छ । काठमाडौँ उपत्यकामा १०० टन प्रतिदिन क्षमताको (आरडीएफ) प्लान्ट निर्माण गर्ने लक्ष्य छ ।