५ साउन, काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको सुनकाण्डको अनुगमन गर्दै जरासम्म पुग्ने र अवैध सुन भित्र्याउने जोसुकै भए पनि कारबाही हुने बताएका छन् ।
गत बुधबार करिब एक क्विन्टल सुन बरामद भएपछि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र अध्यागमन कार्यालयको अनुगमन गर्न पुगेका गृहमन्त्री श्रेष्ठले बुधबार बरामद अवैध सुन प्रकरणका दोषी जोसुकै भए पनि कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् ।
‘छानबिन र अनुसन्धानको प्रक्रियालाई यसको जरैसम्म पुग्ने गरी अगाडि बढाउनुपर्छ’ मन्त्री श्रेष्ठले भने, ‘जस्तोसुकै र जोसुकै भए पनि यसको नेक्सस र गुटमा पुग्ने गरी कारबाहीको प्रक्रिया अघि बढाउँछौं ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि यही विषयमा कुराकानी भएको उनले जानकारी गराए ।
अनुगमनपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले आगामी दिनमा यस्ता घटना हुन नदिन नयाँ योजना बनाउने प्रतिबद्धता पनि जनाए ।
भ्रष्टाचार र अपराधको अनुसन्धानमा कुनै कसर बाँकी नराख्ने जनाउँदै उनले सुन आयात घटनाको जरैसम्म पुगेर दोषीलाई कारबाही गरिने बताए ।

 
                             
                                     
	                                         
	                                         
	                                        .jpg) 
	                                         
	                                         
	                                         
                     
                     
                     
                     
                     
                    .jpg) 
                     
                     
                     
                    