Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कैदीबन्दी मृत्यु प्रकरणमा १० प्रहरी अनुसन्धानमा तानिए


कैदीबन्दी मृत्यु प्रकरणमा १० प्रहरी अनुसन्धानमा तानिए

संखुवासभा । जिल्ला कारागार संखुवासभामा कुटपिटबाट दुई जना कैदीको मृत्यु भएको घटनामा प्रहरीले १० जना प्रहरीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । घटनापछि प्रहरीले ९ जना कैदीलाई बुधबार पक्राउ गरिसकेको थियो ।

कारागारमा कार्यरत प्रहरी र कैदीबन्दी १९ जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरिरहेको छ । गत बुधबार कुटपिटबाट कैदीबन्दी संखुवासभाको मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको मृत्यु भएको थियो । सोही घटनालाई लिएर प्रहरीले अनुसन्धान गरिरहेको हो । नियन्त्रणमा लिइएका प्रहरी र कैदीबन्दीको नाम भने सार्वजनिक गरिएको छैन ।

कारागारमा रहेको सिसिटिभी फुटेजको आधारमा प्रहरीले कैदीलाई कुटपिट गरेको देखिएको छ । फुटेज हेरेपछि कारागारको सुरक्षामा खटिएका १० जना प्रहरीलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको डीएसपी वीरेन्द्र गोदारले बताए । पीडित पक्षको किटानी जाहेरीको आधारमा म्याद थप गरेर घटनामा संलग्नमाथि थप अनुसन्धान गरिने उनले बताए । कुटपिटमा कारागारको सुरक्षामा खटिएका प्रहरी र चौकीदार, नाइके, बडानाइकेसहित ९ जना कैदीबन्दी संलग्न भएको देखिएको छ ।

’कैदीको मृत्यु भएको घटनाको अनुसन्धानका लागि भनेर प्रहरीले कारागारका चौकीदार रामकुमार कार्कीसहित ९ जना कैदीलाई हिरासतमा राखेको छ,’ उनले भने, ’उक्त घटना कारागारको ए ब्लकमा भएको थियो । ए ब्लकमा ६६ जना कैदीबन्दी बस्थे ।’

घटनामा प्रहरीको समेत संलग्नता देखिएपछि कोशी प्रदेश प्रहरी कार्यालयले एसपी ऋषिराम कडेलको नेतृत्वमा आएको ४ सदस्यीय छानबिन समितिले पनि बिहीबारबाट अनुसन्धान सुरु गरिसकेको छ । २५ जना क्षमताको संखुवासभा कारागारमा अहिले आठ महिलासहित एक सय ३६ जना कैदीबन्दी छन् ।