एजेन्सी । अमेरिकाका लागि चीनका राजदूत सी फेङले चीनले कुनै प्रविधि वा व्यापार युद्ध नचाहेको तर अमेरिकाले चिनियाँ चिप उद्योगहरूमाथिको प्रतिबन्ध अझै कस्दै लगेमा आफूहरूले त्यसको उपयुक्त प्रतिकृया दिने चेतावनी दिएका छन् । अस्पेन सेक्युरिटी फोरम नामक एक कार्यक्रममा बोल्दै उनले चीन प्रतिस्पर्धाबाट पछि नहट्ने तर अमेरिकाले जसरी प्रतिस्पर्धाको परिभाषा गरेको छ त्यो निष्पक्ष नभएको धारणा व्यक्त गरे ।
राजदूत फेङको यो धारणा अमेरिकी सरकारले गएका केही महिनायता अत्याधुनिक चिप निर्माणमा प्रयोग हुने सामाग्रीमा कस्दै लगेको नियन्त्रणतर्फ लक्षित थियो । ’यो त कस्तो भयो भने तपाईं पौडी प्रतियोगितामा आफ्नो प्रतिस्पर्धीलाई स्विमवेयर पनि लगाउन नदिने अनि आफू स्पीडो लगाएर पौडिने,’ फेङले व्यङ्य गर्दै भने, ’चीन सरकार त्यसमा मुकदर्शक भएर बस्दैन । भनाइ नै छ कि चीन आफैँ आक्रामक हुन जाँदैन तर अरू आक्रामक भएर आएमा झुक्दैन ।’
पछिल्ला दिनमा अमेरिकाले देशबाहिर हुने लगानीको समीक्षाका लागि संयन्त्र बनाउने र चीनतर्फ हुने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) चिप निर्यातमाथिको प्रतिबन्ध अझै बढाउने तयारी गरिरहेको चर्चा चलेको समाचार संस्था रोयटर्सले जनाएको छ ।
बाइडेन प्रशासनले कतिपय अत्याधुनिक सेमिकन्डक्टर, क्वान्टम कम्प्युटिङ, आर्टिफिसियल इन्टेलिजेन्स लगायतका क्षेत्रमा लगानी गर्न रोक लगाउने किसिमले आदेशको तयारी गरिरहेको र सेप्टेम्बरको पहिलो साता अमेरिकामा मनाइने लेबर डेसम्म त्यसमा हस्ताक्षर हुने कार्यक्रम रहेको एक उच्च अमेरिकी सरकारी अधिकारीलाई उदृत गर्दै रोयटर्सले लेखेको छ ।