मकवानपुर । भीमफेदी गाउँपालिकामा घर घरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण सुरु गरेको छ । भीमफेदी गाउँपालिका वडा नम्बर ८ मा यो आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता कार्यक्रम घरमै पुगेर वितरण गरिएको हो ।
यही साउन १५ गतेबाट सुरु गरिएको वृद्धभत्ता वितरण कार्यक्रम आज भीमफेदी ८ को साविक इपाको ५,६,७,८, र ९ वडाको लागि वडा कार्यालय इपाबाट वितरण गरिएको हो ।
आज भीमफेदी गाउँपालिकाको वडा नम्बर ८ को वडा कार्यालयमा गाउँपालिकाको अध्यक्ष हिदम लामा सहित वडा अध्यक्ष विष्णु बहादुर लगायत प्रभु बैंकका प्रतिनिधिहरु पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । अबदेखि गाउँको जेष्ठनागरिक, अपांग लगायत सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहिलाई हेटौंडा, भीमफेदी, काठमाडौ जान नपर्ने भएको छ ।
सामाजिक सुरक्षा भत्ता वितरण गर्दै गाउँपालिका अध्यक्ष हिदम लामाले जनताको पक्षमा काम गर्न कहिल्यै पनि कमि नहुने पनि प्रतिबद्धता व्यक्त गर्नु भयो । आज गाउँमा नै बृद्ध अवस्थाका बा–आमा लगाएत अपांग, एकल महिला र दलित भाई बहिनिहरुको लागि भत्ता लिन भनेर हेटौंडा, भीमफेदी, काठमाडौ जाने कामको पनि अन्त्य गरिएको बताउनु भयो ।
भीमफेदी गाउँपालिका वडा नम्बर ८ वृद्ध अवस्थाका बा–आमा लगायत अपाङ्ग, एकल महिला, दलित बालबालिका सबैले भीमफेदी, हेटौंडा, काठमाडौं गएर सामाजिक सुरक्षा भत्ता लिन जानूपर्ने बाध्यता अन्त्य भएको वडा अध्यक्ष विष्णु बहादुर लामाले बताउनु भयो । अब प्रत्यक तीन–तीन महिनामा जनप्रतिनिधि लगायत वडाको कर्मचारीको रोहवरमा बैंकको प्रतिनिधि मार्फत् गाउँमा नै आएर भत्ता वितरण गर्ने उनको भनाई छ ।
गाउँपालिकाको अध्यक्षले घरमै आएर भत्ता दिदा दङ्ग पर्दै स्थानीय लाभग्राहीरुले खुलरै प्रशंसा गरेका थिए । जनताको भावना बुझ्ने जनप्रतिनिधि पाएको भन्दै उनीहरुले खुसी व्यक्त गरेका थिए ।