काठमाडौं, श्रावाण १९ । गत आर्थिक वर्ष २०७९,८० को तेस्रो त्रैमासमा खराब कर्जा बढेको बैंक तथा वित्तीय संस्था सुधार हुँदै आएको देखिएको छ । शुक्रबार वित्तीय विवरण प्रकाशित गरेका सानिमा बैंक र सिद्धार्थ बैंक दुवैको खराब कर्जामा सुधार भएको हो। सानिमा बैंकको लाभांश क्षमता १७.७३ प्रतिशत गत आर्थिक वर्षको वार्षिक वित्तीय विवरण प्रकाशित गरेको सानिमा बैंकको खराब कर्जामा सुधार देखिएको हो। बैंकको खराब कर्जा तेस्रो त्रैमासमा २.२७ प्रतिशत रहेकोमा चौथो त्रैमासमा भने घटेर १.३० प्रतिशतमा सीमित भएको छ। कर्जाको असुली बढेसँगै खराब कर्जा घटेको देखिन्छ। गत आर्थिक वर्ष भरीमा १ खर्ब ४३ अर्ब कर्जा लगानी गरेको यस बैंकको खराब कर्जा १ अर्ब ९५ करोड रूपैयाँ छ।
बैंकले कर्जा जोखिम प्रावधानमा १ अर्ब ५ करोड रूपैयाँ राखेको छ।अझै बैंकको बजारबाट उठ्न बाँकी ब्याज २० करोड रूपैयाँ रहेको छ। ब्याज नउठेकै कारण बैंकले यस्तो नउठेको ब्याज रकमको ६३ प्रतिशत (१३ करोड रूपैयाँ) नियामकीय प्रावधानमा राखेको छ। बैंकको नाफा अघिल्लो आर्थिक वर्ष २०७८,७९ को तुलनामा भने २४.८८ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०७९,८० मा बैंकको नाफा २ अर्ब ६१ करोड रूपैयाँ पुगेको हो। अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानी बढेर ६ अर्ब ४८ करोड रूपैयाँ पुगेको छ। बैंकले १ खर्ब ७८ अर्ब निक्षेप संकलन गरेको छ।
बैंकले आगामी आर्थिक वर्ष मात्रै १७.७३ प्रतिशत लाभांश दिन सक्ने देखिएको छ। १२ अर्ब ४६ करोड चुक्ता पुँजी रहेको बैंकको वितरण योग्य नाफा दुई अर्ब २० करोड छ। बैंकको प्रतिसेयर आम्दानी २१ रूपैयाँ ०२ पैसा, पिइ अनुपात १२.३९ गुणा र प्रतिसेयर नेटवर्थ १५५ रूपैयाँ ५१ पैसा छ। गत आर्थिक वर्षको वार्षिक वित्तीय विवरण प्रकाशित गरेको सिद्धार्थ बैंकको खराब कर्जामा सुधार देखिएको छ। बैंकको खराब कर्जा तेस्रो त्रैमासमा ३.९५ प्रतिशत रहेकोमा चौथो त्रैमासमा भने घटेर २.०१ प्रतिशतमा सीमित भएको छ। कर्जाको असुली बढेसँगै खरब कर्जा घटेको देखिन्छ।
गत आर्थिक वर्ष भरीमा एक खर्ब ८९ अर्ब कर्जा लगानी गरेको बैंकको खराब कर्जा ३ अर्ब ८० करोड रूपैयाँ छ। बैंकले कर्जा जोखिम प्रावधानमा १ अर्ब १२ करोड रूपैयाँ राखेको छ। अझै बैंकको बजारबाट उठ्न बाँकी ब्याज ५० करोड रूपैयाँ रहेको छ। ब्याज नउठेकै कारण बैंकले यस्तो नउठेको ब्याज रकमको ६३ प्रतिशत ३२ करोड रूपैयाँ० नियामकीय प्रावधानमा राखेको छ। बैंकको नाफा अघिल्लो आर्थिक वर्ष २०७८,७९ को तुलनामा भने १० प्रतिशतले बढेको छ।
आर्थिक वर्ष २०७९,८० मा बैंकको नाफा ३ अर्ब १९ करोड रूपैयाँ पुगेको हो। अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानी बढेर ८ अर्ब १७ करोड रूपैयाँ पुगेको छ। बैंकले २ खर्ब ४० अर्ब निक्षेप संकलन गरेको छ। बैंकले आगामी आर्थिक वर्ष मात्रै ५.६५ प्रतिशत लाभांश दिन सक्ने देखिएको छ। १४ अर्ब ८ करोड चुक्ता पुँजी रहेको बैंकको वितरण योग्य नाफा ७९ करोड छ। बैंकको प्रतिसेयर आम्दानी २२ रूपैयाँ ६६ पैसा, पिइ अनुपात ११.१७ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ८० रूपैयाँ ७३ पैसा छ।