काठमाडौँ । अनलाइन व्यापारको नाममा हुने ठगीका घटनाबारे सचेत रहन प्रहरीले आग्रह गरेको छ । यस्ता ठगीबाट बच्ने उपायमा प्रहरीले क्यास अन डेलिभरी विकल्प रोज्न अनुरोध गरेको हो ।
प्रहरीले बिहीबार जारी गरेको सूचना अनुसार सामाजिक सञ्जालहरूमा विभिन्न साइटहरू खोलेर ग्राहकलाई आकर्षक योजनाहरू प्रस्तुत गर्ने र ग्राहकले सामान अर्डर गरेपछि उनीहरूलाई बैंक खातामा रकम ट्रान्सफर गर्न वा क्यूआर कोड स्क्यान गरी रकम बुझाउन भनिन्छ । रकम प्राप्त भएपछि ठगहरूले सम्पर्क बन्द गर्ने र सामान नपठाउने प्रवृत्ति बढेको प्रहरीको भनाइ छ ।
‘कुनै ग्राहकले सामान अर्डर गर्दा विभिन्न क्यूआर र बैंक खातामा रकम माग गर्ने र रकम प्राप्त गरिसकेपछि सामान डेलिभरी नगरी सम्पर्कविहीन भई ठगी गर्ने प्रवृत्ती बढेको छ,’ प्रहरीको सूचनामा भनिएको छ, ‘यसबारे सजग रहन सम्पूर्णमा अनुरोध छ ।’
प्रहरीले यस्ता घटनाबाट बच्न केही सुझावहरू दिएको छ । त्यसमा अर्डर गरेको सामान प्राप्त गरेपछि मात्रै नगद भुक्तानी दिने ‘क्यास अन डेलिभरी’ विकल्प अपनाउन सकिने उल्लेख छ ।
त्यस्तै, आधिकारिक विक्रेता यकिन गरेर मात्रै सामान अर्डर गर्न भनिएको छ । ‘अन्य ग्राहकको प्रतिक्रिया हेर्ने, अन्य बिक्रेतासँग मूल्य तुलना गर्ने,’ प्रहरीको सुझाव छ । ठगीमा परियो भने के गर्ने भन्नेबारे पनि प्रहरीले सुझाव दिएको छ ।
यस्ता ठगीमा परे स्क्रिनसट र लिंकसहित प्रहरीको साइबर ब्युरोमा निवेदन दर्ता गर्न प्रहरीले अनुरोध गरेको छ । काठमाडौं उपत्यकाबाहिरका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा निवेदन दिन सकिने सूचनामा उल्लेख छ ।