काठमाडौं । सरकारले काभ्रेको पाँचखाल नगरपालिकामा महिला औद्योगिक ग्राम निर्माण गर्ने लागेको छ ।स्थानीय कच्चा पदार्थमा आधारित उद्योग महिलाले नै सञ्चालन गर्ने गरी महिला औद्योगिक ग्राम बनाउन लागिएको हो । हालै मन्त्रीपरिषद्को बैठकले पाँचखालमा महिला औद्योगिक ग्राम निर्माण गर्ने गरी निर्णय समेत गरेको छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत काभ्रेको पाँचखालमा निर्माणाधीन औद्योगिक ग्रामलाई महिला उद्यम ग्रामका रूपमा नामकरण गरी महिला उद्यमीलाई उद्योग सञ्चालन गर्न प्रोत्साहित गरिने घोषणा गरेको छ । सो ग्राम निर्माणका लागि बजेटमार्फत ४१ करोड रुपैयाँ समेत विनियोजन गरेको छ ।
ग्राम निर्माणका लागि पाँचखाल नगरपालिका विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार गरेको बताएको छ । नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमले डिपिआर तयार गरिसकेकाले एक महिनाभित्र टेन्डर आह्वान गरेर ग्राम निर्माण कार्य सुरु गर्ने बताए ।
ग्राममा महिला उद्यमीलाई मात्र राखिने छ । कृषि वन पैदावार, स्थानीय कच्चा पदार्थबाट उत्पादित उत्पादनहरू ग्रामभित्र राखिने छ । ग्राम निर्माणका लागि ९७ करोड रुपियाँ लाग्ने नगरपालिकाले जनाएको छ । तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७५,७६ को बजेटमार्फत औद्योगिक ग्राम स्थापनाको घोषणा गरेका थिए ।