२७ असार, काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल विनोद पौडेललाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको छ ।
बुधबार पौडेललाई काठमाडौंको गोकर्णेश्वरबाट पक्राउ गरेको एसएसपी दिनेश आचार्यले जानकारी दिए। योसँगै उक्त प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ।
मंगलबार मात्रै सिआइबीले चार जनालाई पक्राउ गरेको थियो । जसमध्ये, भौतिक योजना मन्त्रालयका तत्कालीन सिनियर डिभिजन इन्जिनियर बालकृष्ण श्रेष्ठ, भूमि व्यवस्था विभागका तत्कालीन महानिर्देशक रूद्रप्रसाद श्रेष्ठ, तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्र पक्राउ परेका थिए ।
यस प्रकरणमा काठमाडौं महानगर वडा नम्बर ५ का तत्कालीन वडासचिव शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र तत्कालीन नापी कार्यालयमा रहेका घमानकुमार कार्कीलाई पक्राउ गरी उनीहरूमाथि अहिले प्रहरी संगठित अपराध कसुरमा अनुसन्धान गरिरहेको छ ।
यस प्रकरणमा संलग्नहरूले ४ वटा चरण गरी जग्गा हडपेको सिआइबीले बताएको छ ।