काठमाडौं नेपाल प्रहरीको पर्यटक क्षेत्रमा भएका कर्मचारीको चिनियाँ भाषा प्रशिक्षण भइरहेको छ। पर्यटक प्रहरी, इमर्जन म्यान्डरिन एकेडेमी आइएमए र इष्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीको सहकार्यमा पर्यटक प्रहरीलाई दुई महिने चिनियाँ भाषा प्रशिक्षण दिइएको हो । प्रशिक्षणमा सहभागी पर्यटक प्रहरीलाई बुधबार प्रमाणपत्र वितरण गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले पर्यटक प्रहरीलाई चिनियाँ पर्यटकसँग सञ्चार गर्न र उनीहरूको समस्या समाधान गर्न सहज हुने बताएका छन् ।
पर्यटक प्रहरीलाई अन्य भाषाको पनि प्रशिक्षण दिन जरुरी रहेको उनको भनाइ छ। साथै, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले नेपाल र चीन छिमेकी मुलुक भएकाले एक आपसमा भाषा जाने हरेक कुरामा सहज हुने धारणा व्यक्त गरे।यस्तै चिनियाँ राजदूतावासका काउन्सिलर वाङ्छिन, नेपाल पर्यटन बोर्डका महानिर्देशक होमप्रसाद लुइँटेल, प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठलगायतले प्रशिक्षणबाट पर्यटक प्रहरीलाई काम गर्न थप हौसला मिल्ने बताएका छन् ।
कार्यक्रममा भाषा प्रशिक्षणमा सहभागी पर्यटक प्रहरी लक्ष्मण राउत, कुमारबहादुर खड्का, सुनिता नेपाल, शुभराज महतरा र सुनिल श्रेष्ठलाई प्रमाणपत्र प्रदान गरिएको छ। दुई महिनासम्म सञ्चालन भएको पर्यटक प्रहरी भाषा प्रशिक्षण कक्षका लागि इमर्जन म्याण्डरिन एकेडेमीले छुट्टै पाठ्यक्रम बनाएर अध्यापन गराएको एकेडेमी सञ्चालक गर्ने प्रमिला तामाङले बताइन्।