Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चीनमा बाढीले लियो उग्र रुपः विश्व खाद्य सङ्कटको जोखिम बढ्दै


चीनमा बाढीले लियो उग्र रुपः विश्व खाद्य सङ्कटको जोखिम बढ्दै

एजेन्सी । चीनको ‘अन्न भण्डार’ भनिने उत्तरी क्षेत्रमा बाढीले उग्र रुप लिएको छ । चीनका उत्तरी क्षेत्रका धेरै प्रदेशमा एक साथ आएको बाढीका कारण ठूलो मात्रामा कृषिजन्य क्षति व्यहोर्नु परेको हो ।

ग्लोबल टाइम्सका अनुसार चीनको अन्न भण्डार भनिने हेइलोङजियान प्रदेशमा आएको बाढीले जनजीवन प्रभावित पार्नुका साथै ठूलो मात्रामा कृषि उत्पादन क्षति पु¥याएको छ । यो प्रदेशका १२ वटा नदीले खतराको सूचक पार गरेका छन् । यी नदीलाई नियन्त्रण गर्न प्रदेशमा २६ जलाशय सञ्चालनमा रहे पनि नियन्त्रण गर्न मुस्किल भइरहेको छ ।

उत्तरी क्षेत्रको सोङ्घुह्वा, वुच्हाङ्ग लगायतका नदीमा बाढी आउँदा धान उत्पादनमा प्रसिद्ध क्षेत्रमा ठुलो क्षति पुगेको छ । हेइलोङजियानमा चीनकै सबैभन्दा धेरै धान उत्पादन हुन्छ । सन् २०२२ मा यो प्रदेशमा मात्रै चीनमा उत्पादन हुने कूल धानको ११.३ प्रतिशत उत्पादन भएको सरकारी तथ्याङ्क छ ।

बाढीबाट क्षतिग्रस्त भए पनि धानमा पुगेको क्षति न्यून रहेमा उत्पादन हुन सक्ने आस चिनियाँ अधिकारीहरूमा देखिन्छ । चीनमा हेइलोजियानसहित उत्तरी क्षेत्रको जिलिन प्रदेशमा समेत बाढीले वितण्डा मच्चाउँदा यस क्षेत्रका कार्यकारी उप–मेयरसहित १४ जनाले ज्यान गुमाइसकेका छन् । यस्तै, उद्धारमा खटिएका ३ जनाले समेत आफ्नो ज्यान गुमाउनुपरेको ग्लोबल टाइम्सका जनाएको छ ।

विश्वकै दोस्रो ठुलो अर्थतन्त्र चीनमा ठुलो खाद्य सङ्कटको जोखिम औँल्याइएको छ । हेइलोजियान, जिलिन र लियाओइगं प्रदेशमा आएको बाढीबाट भटमास, मकै र धान खेती प्रभावित बनेको छ । चीनको कृषि तथा ग्रामीण मामिला मन्त्रालयले समेत पछिल्लो बाढीले ठूलो मात्रामा खाद्यान्न उत्पादनमा कम आउने अनुमान गरिसकेको छ । यसबाहेक हेनान प्रदेशमा आएको बाढीबाट गहुँको उत्पादन प्रभावित हुने आँकलन गरिएको छ ।
यही समयमा रुसले ब्ल्याक सीबाट निर्यात हुने युक्रेनको खाद्यान्नमा प्रतिबन्ध लगाइसकेको छ । टर्कीको मध्यस्थतामा भएको सहमति नमान्ने घोषणा रुसले गरेपछि युक्रेनमा हुने उत्पादन विश्व बजारमा पुग्ने बाटो बन्द भएको छ । युक्रेनबाट मध्य एसिया, युरोप, पूर्वी तथा दक्षिण एसिया र अफ्रिकातर्फ खाद्यान्न निर्यात हुँदै आइरहेको थियो । जसबाट विश्वमा खाद्य सङ्कट आउने चेतावनी विश्व खाद्य संगठनले दिइसकेको छ ।

यसैगरी, बढ्दो बजार मूल्यलाई नियन्त्रण गर्ने भन्दै भारतले आफ्नो देशबाट चामलको निर्यात पूर्णरुपमा प्रतिबन्ध लगाइसकेको छ । विश्वकै सबैभन्दा ठुलो निर्यातकर्ता मुलुक भारतले चामलमा प्रतिबन्ध लगाएपछि थप सङ्कट गहिरिने चिन्ता छ । यही समयमा विश्वकै ठूलो धान उत्पादक राष्ट्र चीनमा आएको बाढी कारण झनै समस्या थपिने अनुमान लगाउन थालिएको छ ।