एजेन्सी । रुसले खाद्यान्न बोकेर युक्रेनी बन्दरगाहमा जाने जहाजमा आक्रमण गर्ने धम्की दिएसँगै विश्व बजारमा गहुँको मूल्य बढेको छ ।
युरोपेली स्टक एक्सचेन्जका अनुसार गत बुधबार अघिल्लो दिनको तुलनामा गहुँको मूल्य ८.२ प्रतिशतले बढेर प्रतिटन २८४ अमेरिकी डलर पुगेको छ ।
यस्तै, मकैको मूल्य पनि ५.४ प्रतिशतले बढेको छ । अमेरिकी गहुँको मूल्यमा पनि ८.५ प्रतिशतले वृद्धि भएको बीबीसीले जनाएको छ । गत सोमबार रुसले ब्ल्याक सी हुँदै गरिने खाद्यान्न निर्यातसम्बन्धी सम्झौता नवीकरण गर्न अस्वीकार गरेको थियो ।
पछिल्लो तीन दिनयता रुसले ओडेसा र अन्य क्षेत्रका युक्रेनी खाद्य गोदाममा आक्रमण गरिरहेको छ । बिहीबार मस्कोले उक्त मार्ग हुँदै जाने जहाज किभको पक्षमा भएको ठानिने चेतावनी पनि दिएको छ ।