काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्दै मुलुकको अर्थतन्त्रको सबलीकरणको दिशामा क्रियाशील रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सरकारले उद्योग तथा व्यवसायको विकासका लागि तदारुकताका साथ काम गरिरहेको बताएका हुन् ।
मन्त्री भण्डारीले देशमा औद्योगिक तथा व्यवसायिक वातावरण सहज बनाउन आर्थिक क्षेत्रसँग सम्बन्धित करिव एक दर्जन बढी ऐन संशोधन गरिएको उल्लेख गरे । उद्योग प्रतिष्ठानहरूको सञ्चालनमा थप सहजता ल्याई वस्तु तथा सेवाको उत्पादन बढाउने र उत्पादन लगात मूल्य प्रतिस्पर्धी बनाउने उद्देश्यले ऐनहरू संशोधन गरिएको मन्त्री भण्डारीको भनाइ छ ।
उनले राष्ट्रिय स्टार्टअप नीति २०८१ नेपाल सरकारबाट स्वीकृत भई स्टार्टअप कर्जा कार्यक्रम कार्यान्वयनमा आइसकेको समेत उल्लेख गरे । स्थानीय बजारको सुनिश्चितता तथा आन्तरिम रोजगारीको प्रवर्द्धन गर्न सरकार कटिबद्ध भएर लागिरहेको मन्त्री भण्डारीको जिकिर छ ।