काठमाडौं । आगामी आर्थिक वर्ष २०८०,०८१ को बजेटको श्रोत कम रहेकाले सबै पक्षलाई समेट्न नसकेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले अन्योलताका बीचमा पनि आफूले जायज कुराहरुलाई सम्बोधन गरेर बजेट विनियोजन गरेको बताए। उनले अर्थतन्त्रलाई चलायमान गर्नसक्ने कुरालाई मध्यनजर गरी बजेट ल्याएको उल्लेख गरे। कसैको मुख नहेरी र कसैलाई फाइदा र बेफाइदा पुग्ने गरी बजेट विनियोजन नगरेको भन्दै उनले निष्पक्ष रुपमा बजेट जनताका माग पूरा गर्नका लागि ल्याएको दाबी गरेका छन्।
कसौँडीमा पाक्नसक्ने चामलले जन्ती बराबरलाई खुवाउनु परेको खण्डमा केही असन्तुष्टि व्यक्त भएको बताउँदै उनले भने, मैले कसैलाई फाइदा पुग्ने नपुग्ने गरी होइन, आमनागरिकको आकंक्षाअनुसार ल्याएको । सुशासन, पारदर्शीतालाई मध्यनजरमा राखि लोभ मोह नराखी अघि बढाएको छ।
एउटा कसौँडीमा पाक्नसक्ने चामल छ, अब जन्तीबराबरलाई खुवाउनु परेको खण्डमा के हुन्छ हाम्रो आम्दानी भनेको कसौँडीमा पकाउने चामल छ, सबैको चाहना पूरा गर्न ठूलो खड्करोमा पकाउँदा पनि पुग्दैन। त्यो अवस्थामा के हुन्छ, सबैको भावनाको सम्बोधन गर्न सकिँदैन। आगामी दिनमा जनताका धेरै काम पूरा गर्न सक्षम हुने ।