काठमाडौं, २५ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेका छन् ।
आज भएको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नैतिकता जीवित भए प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन् ।
प्रतिनिधिसभा सदस्यसमेत रहेका अध्यक्ष लिङ्देनले सोमबार सदनमा आफ्ना कुरा राख्दै प्रधानमन्त्री दाहालको अभिव्यक्ति गम्भीर भएकाले राजीनामा दिनुपर्ने बताएका छन् । उनले भने, ‘प्रधानमन्त्रीको अभिव्यक्तिबारे प्रतिपक्षमा रहेका सबै दलले त्यसको विरोध गरेका थियौँ । तर त्यो दिन हामीलाई विचार राख्न किन दिइएन ? किन नियम मिचेर सत्तापक्षतिर बोल्न दिइयो । प्रधानमन्त्रीले नैतिकता जीवित छ भने राजीनामा दिनुपर्छ । दबाबले दिने होइन ।’
उनले तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले बोली चिप्लिँदा राजीनामा दिएको स्मरणसमेत गराए । प्रधानमन्त्री दाहालले असार १८ गते एउटा पुस्तक विमोचनका क्रममा आफूलाई प्रधानमन्त्री बनाउन एक व्यवसायी दिल्ली गएको बताएका थिए ।
लिङ्देनले संसद्मा केही दल मात्र नभएको पनि बताए । अरु दल पनि निर्णायक अवस्थामा रहेकाले अरुको भारी आफूहरूले बोक्न नसक्ने उनको धारणा छ ।