Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

इजरायलीमाथिको हमला, विश्व अर्थतन्त्रमा अर्काे धक्का

पत्रपत्रिका


इजरायलीमाथिको हमला, विश्व अर्थतन्त्रमा अर्काे धक्का

एजेन्सी । शनिबार बिहानै हमासले गाजापट्टीमाथि लागू इजरायली नाकाबन्दीलाई निस्तेज बनाउँदै गाजानजिकका इजरायली बस्तीमा आक्रमणले विश्वको ध्यान तानेको छ । आश्चर्यजनक र आकस्मिक रूपमा भएको हमासको घुसपैठबाट इजरायलमा करिब ८०० ले ज्यान गुमाएका छन् भने दुई हजारमाथि घाइते भएका छन् । त्यस्तै हमासले इजरायलबाट सयभन्दा बढी मानिसलाई अपहरण गरेर गाजा लगेको छ ।

हमासले छोटो समयमा हजारौँ रकेट प्रहार गर्दा इजरायलको चर्चित मिसाइल प्रतिरक्षा प्रणाली आइरन डोमले सबैलाई रोक्न सकेको थिएन । हमासले दशकौैँमा पहिलोपटक इजरायल–गाजाबीचको तारबार तोडेर उसका लडाकुलाई इजरायल गुसपैठ गराउन सफल भएको थियो । इजरायलले गाजा क्षेत्रका हमासका आश्रयस्थलमा गरेको जवाफी कारबाहीमा सयौँका ज्यान गएको छ । यसले स्वाभाविक रूपमा ध्यान अहिले युक्रेनबाट मध्यपूर्वतर्फ सरेको छ । अन्तर्राष्ट्रिय चासोका अतिरिक्त युक्रेनले पाउँदै गएको आर्थिक तथा सैन्य सहयोग पनि घट्ने चर्चा सुरु भएको छ ।


शक्तिशाली रुसको आक्रमणविरुद्ध प्रतिरोध गर्न आर्थिक रूपमा कमजोर युक्रेन पश्चिमी शक्ति त्यसमा पनि अमेरिकाको आर्थिक तथा सैन्य सहयोगमा निर्भर देखिन्छ । उसले पाइरहेको कुनै प्रकारको सहयोगमा ह्रास आएमा युद्धमा रुस हाबी हुन सक्ने सम्भावना रहन्छ । केही पश्चिमी सुरक्षाविद तथा नीति–निर्माताहरू रुस आफैँले यस्तो माहोल सिर्जना गर्न लागिसकेको बताएका छन् । ‘इस्टिच्युट फर स्टडी अफ वार(आइएसडब्लू)’ले आइतबार रुस आफैँले युक्रेनले पाउँदै गरेको अन्तर्राष्ट्रिय समर्थन तथा चासो घटाउन सूचना अभियान सुरु गरेको चेतावनी दिएको छ । आइएसडब्लुका अनुसार इजरायलमाथि हमासले आक्रमण गरेलगत्तै रुसबाट त्यस्तो अभियान सुरु भएको थियो ।

पश्चिमी नीति–निर्माताका अनुसार युक्रेनले पाइरहेको अन्तर्राष्ट्रिय सहयोग घट्ने कुरालाई बढाइ–चढाइ प्रचार गरेर रुसले युक्रेनी जनता तथा सेना हतोत्साही गराउन खोजेको आरोप लगाएका छन् । रुसले आगामी दिनमा इजरायल–हमासको द्वन्द्व लम्बिएमा पश्चिमले युक्रेन र मध्यपूर्वमध्ये एउटा छान्नुपर्ने स्थिति आउने कुरालाई व्यापक प्रचार गरिरहेका छन् । रुसी नेताले पनि पश्चिमको गलत क्षेत्रमा हस्तक्षेपको कारण मध्यपूर्वमा युद्ध भड्केको आरोप लगाएका छन् । विभिन्न रुसी नेताले यस्तै सन्देश सामाजिक सञ्जालमा उठाइरहेका पाइएको छ ।

रुसको आक्रमणविरुद्ध प्रतिरोध गर्न आर्थिक रूपमा कमजोर युक्रेन अमेरिकाको आर्थिक तथा सैन्य सहयोगमा निर्भर देखिन्छ । उसले पाइरहेको कुनै प्रकारको सहयोगमा ह्रास आएमा युद्धमा रुस हाबी हुन सक्ने सम्भावना रहन्छ । केही पश्चिमी सुरक्षाविद तथा नीति–निर्माताहरू रुस आफैँले यस्तो माहोल सिर्जना गर्न लागिसकेको बताउँछन् ।

रुसको सुरक्षा परिषद्का उपाध्याक्ष रहेका रुसी पूर्वराष्ट्रपति दिमित्री मेदभेदेवले मध्यपूर्वमा द्वन्द्व भड्किएसँगै ट्विटरमा लेखेका थिए, ‘योम किपुर युद्ध सुरु भएको ५०औँ वर्षगाँठको अवसरमा हमास र इजरायलबीच सुरु भएको द्वन्द्व अप्रत्यासित विकासक्रमको रूपमा देखिएको छ । इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्व दशकौँदेखि चलिरहेको छ । यसमा अमेरिका प्रमुख अंग रहेको छ । तर, प्यालेस्टाइनी–इजरायली बसोवासलाई व्यवस्थापन गर्न सक्रिय हुनुको साटो यी बेइमानहरू हाम्रो क्षेत्रमा द्वन्द्व मच्चाउन आए । यसका लागि तिनले नव–नाजीहरूलाई पूर्णस्तरको अनुदान दिने, एकआपसमा नजिकको सम्बन्ध भएका दुई जनतालाई एकअर्काविरुद्ध लडाइरहेका छन् ।’ मेदभेदेवले दुई नजिकका सम्बन्ध भएको भनेर युक्रेनी र रुसलाई संकेत गरेका हुन् ।

उता पश्चिममा रुसी प्रोपगान्डाकर्मीका रूपमा चिनिएका सर्गेइ मरदनले इजरायल–गाजा बीचको द्वन्द्वले रुसलाई लाभ पुग्ने दाबी गरेका छन् । ‘विश्वको ध्यान पुनः मध्यपूर्वका दीर्घकालीन आगो निभाउन मोडिँदा युक्रेन युद्धमा रुसको हात माथि पर्नेछ,’ सर्गेईले उनको टेलिग्राम च्यानलमा लेखेका छन् ।

इजरायल–हमास युद्धले युक्रेनले पाइरहेको सहयोगमा असर गर्ने तर्क रुस र त्यहाँका मिडियाले मात्र गरिरहेका छैनन् । रुस–युक्रेन युद्धमा लडेको अनुभव भएका अवकाश प्राप्त मेजर ओलेक्सी हेटम्यानले पनि रुसविरुद्धको युद्धमा युक्रेनले पाइरहेको अन्तर्राष्ट्रिय सहयोग घट्ने टिप्पणी गरेका छन् । ‘इजरायलमा अमेरिकाको हातहतियार भण्डारण छ । नजिक भएकाले अमेरिकाले युक्रेनलाई दिँदै आएको हातहतियारहरू यिनै भण्डारणबाट पठाइरहेको छ । त्यहाँबाट भइरहेको हतियार आपूर्ति पूर्ण रूपमा नरोकिए पनि केही समयका लागि अवरुद्ध हुन सक्छ । स्वाभाविक रूपमा इजरायलले ती हतियार आफ्नै प्रयोगका लागि अमेरिकासँग माग गर्नेछ । यसले रुससँगको युद्धमा युक्रेन केही प्रभावित हुनेछ,’ युक्रेनी सञ्चारमाध्यम ‘रेडियो एनभी’मा बोल्ने क्रममा ओलेक्सीले भने ।

त्यसबाहेक इजरायलमाथिको आक्रमणअघि युक्रेनी युद्धमाथि कायम विश्वको एकीकृत चासो पनि छरिने उनले बताए । ‘तर, यसको मतलब सबैले इजरायल संलग्न युद्धतर्फ मात्र ध्यान दिनेछन् र युक्रेनलाई बिर्सिन्छन् भन्ने होइन । मानिसहरूले धेरैतर्फ एकैपटक ध्यान दिन सक्छन् । त्यस्तै युक्रेनले पाइरहेको सहयोग पनि केही प्रभाव परे पनि त्यो धेरै ठूलो नहुन सक्छ,’ ओलेक्सीले भने ।

विश्व अर्थतन्त्रमा असर
युक्रेनमा रुसी आक्रमण, चीनसँग अमेरिकाको बढ्दो कटुता र अजरबैजना–अर्मेनियाबीच भएको झडप भर्खरै सकिएको परिपे्रक्षमा अर्को भूराजनीतिक तनावले विश्व अर्थतन्त्रलाई असर गर्ने चिन्ता पनि गहिरिँदै छ । लगानीकर्ता तथा उद्योगीहरू पहिले नै युक्रेन युद्ध र चीन–अमेरिकाबीच बढ्दो तनावले तिनको व्यापारमा पारेको असरबाट चिन्तित थिए । इजरायल–गाजाबीच सुरु भएको हिंसात्मक द्वन्द्व अस्थिर मध्य–पूर्वका अन्य भागमा पनि फैलिने खतरा छ । त्यसो भएमा त्यसले नाजुक सन्तुलन कायम गरिरहेको विश्व अर्थतन्त्र असुन्तलित बन्न सक्छ ।

शनिबारको आक्रमणमा हमासले इजरायलको बहुचर्चित मिसाइल तथा स्थल प्रतिरक्षा प्रणालीलाई माथ दिएको चर्चा छ । सो दाबी सही निस्किए मध्यपूर्वका अन्य इजरायली शत्रुको मनोबल बढ्न सक्छ । उता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनको गठबन्धन सरकार अहिले ठूलो स्तरको आक्रमणको दबाबमा छ । सुरुका २४ घण्टामा इजरायलले गाजामा गरेको जवाफी आक्रमणमा करिब ४०० जनाको ज्यान गइसकेको छ । इजरायली सरकारले गाजाभित्र सेना पठाएमा हमासका अतिरिक्त उत्तरी छिमेकी लेबनानमा बसिरहेका हेजबुल्लाहले पनि इजरायलमाथिको आक्रमण तीव्र पार्न गर्न सक्छ । दुवै समूहलाई इरानको समर्थन छ ।

सबैभन्दा गम्भीर भावी स्थिति इजरायल र तेहरान एकअर्काविरुद्ध प्रत्यक्ष आमनेसामने भए आउनेछ । त्यस्तो द्वन्द्वले पूरै मध्य–पूर्वलाई गाँज्नेछ, जुन विश्वको ३२ प्रतिशत कच्चा तेलको स्रोत हो । यसले गर्दा त्यहाँको अस्थिरताले विश्वभर असर देखिनेछ । विशेषतः विश्व अहिले कोरोना महामारीपछि अर्थतन्त्र खुलेपछि बढेको महँगी नियन्त्रण गर्ने क्रममै छ । सबैजसो देशका केन्द्रीय बैंकका बैंकरहरू ब्याजदर बढाएर महँगी नियन्त्रण लिने प्रयासमा छन् । ती प्रयासले केही सकारात्मक संकेत दिइरहेका समयमा मध्यपूर्वको नयाँ द्वन्द्वले बैंकका प्रयासमा पानी खन्याइदिन सक्छ । जस्तो– आक्रमणको भोलिपल्ट तेल बजार खुल्दा ‘ब्रेन्ट क्रुड’ तेलको मूल्य प्रतिब्यारेल ८६ डलरमा खरिद–बिक्री भएको थियो, जुन पहिलेभन्दा दुई प्रतिशतले बढी हो । आजको नयाँ पत्रिकामा खबर छ ।  (रोयटर्स र अन्य एजेन्सीहरूबाट)