Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आयरल्यान्डसँग पराजित नेपाललाई विश्वकप छनोटमा आठौं स्थान


आयरल्यान्डसँग पराजित नेपाललाई विश्वकप छनोटमा आठौं स्थान

काठमाडौं, १९ असार । आयरल्यान्डसँग विश्वकप छनोट क्रिकेटको सातौं स्थानको प्लेअफमा नेपाल २ विकेटले पराजित भएको छ । २ सय ६९ रनको लक्ष्य आयरल्यान्डले निर्धारित ओभर सकिनुभन्दा ४ बल अगाडि पूरा गरेको थियो । ब्यारी म्याकार्थीले आफूले सामना गरेको दोस्रो बलमै विजयी चौका प्रहार गरेका थिए । ग्यारेथ डिलानी १६ रनमा अविजित रहे । 

आयरल्यान्डबाट कुर्टिस क्याम्फेरले ६२ र ह्यारी टेक्टरले ६० रन बनाए । क्याम्फेरले ५९ बल खेली ८ चौका र १ छक्का तथा टेक्टरले ९६ बल खेली ४ चौका र २ छक्का प्रहार गरे । जर्ज डकरेलले ३३, लोर्कन टकरले २४ रन बनाए । नेपालका लागि भने करण केसीले १० ओभरमा १ मेडन राख्दै ५८ रन खर्चेर ४ विकेट लिए । त्यस्तै किशोर महतोले २ तथा गुल्शन झा र सन्दीप लामिछानेले १–१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले हरारेको ताकसिंगा स्पोर्टस क्लबमा निर्धारित ५० ओभरमा ९ विकेट गुमाई २ सय ६८ रन बनाएको थियो । गुल्शन झाले अविजित ५७ रन बनाए । उनले ४२ बल खेल्दै ४ चौका र ३ छक्का प्रहार गरे । अर्जुन साउद ४८, कुशल मल्ल ४४, सन्दीप ३२, कप्तान रोहित पौडेल २९ र भिम सार्की २० रनमा आउट भए ।

जिम्बावेमा भइरहेको प्रतियोगितालाई नेपालले आठौं स्थानका साथ टुंगाएको छ । २०१८ मा जिम्बावेमै भएको विश्वकप छनोटको पछिल्लो संस्करणमा पनि आठौं स्थान हात पार्दै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।