काठमाडौँ । पेशागत महासंघ नेपाल र एकीकृत सरकारी कर्मचारी संगठनले श्रमिकको हकहितका लागि स्वतन्त्र राष्ट्रिय श्रम आयोग गठन गर्न माग गरेको छ । बजेट निर्माण प्रक्रियामा रहेको अर्थसचिव घनश्याम उपाध्यायलाई ज्ञापनपत्र बुझाउँदै पेसागत महासंघ र कर्मचारी संगठनले यस्तो माग गरेको हो ।
‘सरकारी तथा निजी क्षेत्रमा काम गर्ने श्रमिक कर्मचारीलाई सामाजिक सुरक्षाको व्यवस्था गर्न, सरकारी कार्यालय, विद्यालय, क्याम्पस, अस्पताल र संस्थानहरुमा स्थायी दरबन्दी निर्धारण गरेर प्रतिस्पर्धाबाट जनशक्ति आपूर्ति गरेर अस्थायी, करार, ज्यालादारी काम गराउने शोषणमूलक श्रम अभ्यासको अन्त्य गर्न र श्रमिकहरुको हकहितका लागि स्वतन्त्र राष्ट्रिय श्रम आयोग गठन गर्न माग गरिएको छ,’ ज्ञापनपत्रमा भनिएको छ ।
उनीहरुले अनियमितता र भ्रष्टाचारमा संलग्न दोषी व्यक्तिलाई कारबाही गर्न, राजनीतिक व्यक्तिहरु र कर्मचारीतन्त्रका व्यक्तिहरुको अकुत धनसम्पत्ति छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्न, कृषि क्षेत्रमा लगानी वृद्वि गरेर उत्पादन र रोजगारी वृद्धि गर्न, किसानलाई बजारमा र मूल्यको ग्यारेन्टी गर्न ७५३ वटै पालिकास्तरमा सहकारीमा आधारित कृषि उपज खरिदबिक्री केन्द्र स्थापना गर्न, सहकारीपीडित बचतकर्तालाई बचत रकम फिर्ता गर्न र सहकारी कर्मचारीलाई तलब बापतको रकम भुक्तानी गर्न सहकारी रेस्कयू कोष खडा गर्न माग गरेका छन् ।