काठमाडौं,१३ असार । विभिन्न स्थानमा भएका औद्योगिक ग्रामहरु अलपत्र हुदा सरकारले पुनः देशका थप ७ स्थानमा औद्योगिक ग्राम बनाउने घोषणा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ६ जिल्लामा ७ औद्योगिक ग्राम बनाउने निर्णय गरेको हो । कालीकोट जिल्लाको रास्कोट नगरपालिका ६, सोही जिल्लाको नरहरिनाथ गाउँपालिका २, बाँकेको राप्तीसोनारी गाउँपालिका ४, पाल्पाको रम्भा गाउँपालिका ३, अर्घाखाँचीको शीतगंगा गाउँपालिका १३, पर्साको जगरनाथपुर गाउँपालिका ५ र बाराको महागढीमाइ नगरपालिका ५ मा औद्योगिक ग्राम घोषणा गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको हो । ‘एक स्थानीय तह एक औद्योगिक ग्राम’को नीतिअनुसार सरकारले यसअघि ११३ वटा स्थानमा औद्योगिक ग्राम घोषणा गरिसकेको छ । यी सहित अब देशका १२० स्थानमा औद्योगिक ग्राम बन्नेछ ।
तर, सरकारले यसअघि बनाएका औद्योगीक ग्रामहरु अहिले अलपत्र जस्तै छन् । सरकारले ठुलो योजना सहित निर्माण गरेको भैरहवा औद्योगिक क्षेत्र सेज आज अलपत्र जस्तै बनेको छ । भने, अन्य स्थानमा सञ्चालनमा रहेका औद्योगिक क्षेत्रहरु बन्द हुने अबस्थामा छन् । हेटौडामा रहेको औद्योगिकका कयौं उद्योगहरु बन्द हुने अबस्थामा पुगेका छन् भने, अन्य क्षेत्रमा पनि अवस्था उस्तै छ । तर, सरकारले पुनः ‘एक स्थानीय तह एक औद्योगिक ग्राम’को नीति अघि सारेको छ ।
त्यस्तै मन्त्रिपरिषद बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदमा नवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशकबाट इन्द्रसिंह लामा र माधव तिमिल्सिनालाई अनुसन्धान निर्देशकमा पदोन्नति गरी लामाको सुदूरपश्चिम र तिमिल्सिनाको कर्णाली प्रदेशमा पदस्थापन गर्ने निर्णय बैठकले गरेको छ ।