काठमाडौं, १९ असार । चर्चित नेपाली रकगायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार उनको बुढानीलकण्ठस्थित घरमा निधन भएको हो ।
अहिले पोस्टमार्टमका लागि रविनको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । प्रहरी प्रभाग बुढानिलकण्ठका इन्सपेक्टर दीपेन्द्र चन्दले गायक तामाङकी दिदी भगवतीले प्रहरीलाई ६ बजे खबर गरेको र सोहीअनुसार बुढानिलकण्ठ ५ चिसेनीस्थित उनको घरमा पुगेको बताए ।
प्रहरीले शव मृत अवस्थामा भेटिएको र शंकास्पद केही नदेखिँएको बताएको छ । सबै प्रक्रिया पुर्याएर रविको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज राखिएको प्रहरीले जनाएको छ । रविन एण्ड द रिभोलुसन ब्याण्डका भोकलिस्ट समेत रहेका रविन पछिल्लो समय चलचित्र अभिनयमा समेत व्यस्त थिए ।
उनको पछिल्लो फिल्म ‘छड्के २’ थियो । नेपाली रक जनराको गीतको विकासमा उनको योगदान उल्लेख्य मानिन्छ । उनको निधनमा नेपाली संगीतकर्मीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।