काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघले, लघुवित्तीय संस्थाहरुका विरुद्धमा संघर्ष समिति खडा गरी नियतबस आक्रमण भईरहेकाले सरकारले सुरक्षाको उचित व्यवस्था नगरेको भन्दै आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाल लघुवित्त बैंकर्स संघले लघुवित्तिय संस्थाहरुमा निरन्तर स्वार्थ समुह र राजनीतिक समूहले सुनियोजित रुपमै संघर्ष समिति बनाएर आक्रमण गरेको आरोप लगाउँदै कर्मचारीको सुरक्षाको माग गरेका छन् ।
संघका महासचिव राम बहादुर यादवले सरकारले व्यवसायीको सुरक्षालाई बेवास्ता गरेको भन्दै आपत्ति जनाए । उनले लघुवित्तकर्मीको मनोबल कमजोर गराउने गरी कर्मचारीमाथि हातपात गर्ने, कार्यालयमा तोडफोड तथा उपकरण, रकम लुटपाट तथा आगजनीको प्रयास गर्ने, सोझा सदस्यहरुलाई वित्तीय सेवा उपयोग गर्न बाधा पु¥याई लघुवित्त कार्यक्रमलाई नै धराशायी गराउने जस्ता कानून विपरितका गतिविधि भएको प्रति संघको घोर आपत्ति रहेको उनले बताए ।
त्यस्तै, लघुवित्त बैंकर्स संघका निवर्तमान अध्यक्ष वसन्त लम्सालले लघुवित्तिय संस्थाहरुमा सुरक्षाको थप चुनौति बताउँदै उनले भने, ‘पैसा उठाउने कुरामा समय छ विस्तारै असुल हुन्छ, अहिले त्यति धेरै आत्तिएका छैनौं, मन्दिको कारणले सबैलाई असर परेको छ, ढिलो भएको हो । तर, असुलिको मात्रै कुरा भन्दापनि अहिले जल्दोबल्दो चुनौति सुरक्षाको हो । त्यसकै कारण कर्मचारी फिल्डमा जान नसक्ने, जहाँ पनि पिटिने र अफिसमा बस्न नसक्ने अवस्था चाँहि सबैभन्दा डरलाग्दो अवस्थामा छ ।’
लघुवित्तहरुले ऋण मिनाहा गर्ने आसमा संस्थाका कर्मचारीमाथि नै खनिने गरेको उनको आरोप छ । उनले संस्थाहरुको सुधार छिटो र सजिलो नहुने भन्दै सुरक्षाको प्रत्याभूति गराउन सरकारले जोड दिनुपर्ने बताए ।