काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी छिट्टै सञ्चालनमा ल्याउने बताएका छन् । चैत १५ गते राजावादी प्रदशर्नकारीबाट आगलागीबाट ध्वस्त भएको जडिबुटी कम्पनी छिट्टै सञ्चालनमा ल्याउने बताएका हुन् । मन्त्री ठकुरीले मंगलबार मन्त्रालयमा जडिबुटी कम्पनीका कर्मचारी तथा श्रमिकसँगको कुराकानीको क्रममा सरकार सञ्चालनको तयारीमा जुटेको बताएका हुन् ।
‘नेपालको एक मात्र जडिबुटी उत्पादन तथा प्रशोधन आगलागी र तोडफोड भएदेखि नै हामी कसरी सञ्चालनमा ल्याउने भनेर लागि परेका छौं,’ उनले भने, ‘हामीले गृहमन्त्रीसहित अनुगमन तथा निरीक्षण गरी सञ्चालनका निम्ति प्रक्रिया अगाडि बढाइसकेका छौं ।’ यसैगरी कर्मचारी र श्रमिकलाई काममा फर्किने व्यवस्था मिलाउन पहल गरिने समेत बताए ।