काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले भदौ २३ र २४ भएको प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडबाट पीडित उद्योगी व्यवसायीसँग भेट गरेका छन् ।मंगलबार निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरू नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर्स एण्ड कर्मश, नेपाल उद्योग परिसंघ, नेपाल अटो डिलर्स एशोसियसनसहित चौधरी ग्रुप तथा भाटभटेनी ग्रुप लगायत उद्योगी व्यवसायीसँग छलफल गरेका हुन् ।
छलफलमा निजी क्षेत्रले नवनियुक्त अर्थमन्त्री खनालसँग उद्योग व्यवसायको सुरक्षा, उद्योग व्यवसाय प्रवर्द्धन तथा लगानी प्रोत्साहनका लागि नेपाल सरकारले विश्वस्त तुल्याउन माग गरेका थिए । उनीहरुले प्रदर्शनका क्रममा उद्योग व्यवसायमा भएका क्षतिहरूको सम्बन्धमा कर सहुलियत, सहुलियतपूर्ण कर्जा, बिमा रकम यथाशीघ्र भुक्तानी हुने व्यवस्था लगायतमा नेपाल सरकारले यथाशीघ्र निर्णय गर्नु पर्ने माग राखेका थिए ।
छलफलमा अर्थसचिव घनश्याम उपाध्यायले दशैको दिन बाहेक अन्य सार्वजनिक बिदामा दिनमा समेत बैक तथा भन्सार खुला रहने र पहिरोका कारण अवरोध पुगेको तातोपानी नाका जोड्ने बाटो खुलाउनका लागि सरकारले प्रयास गरिरहेको बताए ।
छलफलअघि अर्थमन्त्री खनालले अटो सेक्टर थापाथली, भाटभटेनी सुपरस्टोर कोटेश्वर, अन्नपूर्ण र कान्तिपुर मिडिया हाउस तथा ट्राफिक प्रहरी कार्यालयका क्षतिग्रस्त संरचनाहरूको अवलोकन गरेको जानकारी गराएका थिए । अर्थमन्त्रीले निजी क्षेत्रका समस्यासँग परिचित रहेको समेत बताए ।
सार्वजनिक तथा निजी क्षेत्रमा पुगेको क्षतिको पुननिर्माणका लागि कोष खडा गर्ने निर्णय भैसकेको भन्दै उद्योग व्यवसायीको समस्या सरकारको पनि समस्या भएकोले यस समस्याबाट बाहिर निस्किनका लागि एकीकृत व्यवसाय पुनरुत्थान योजना ल्याइने समेत बताए ।