कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका)ले नेपालमा आफ्नो विकास साझेदारीको ३० वर्ष पूरा गरेको छ । यही अवसरमा शुक्रबार आयोजित विशेष समारोहमा तीन वटा महत्त्वपूर्ण परियोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको छ । पहिलो सम्झौता अनुसार गण्डकी प्राविधिक संस्थान स्थापना गर्न सन् २०२५ देखि २०३० सम्म कार्यान्वयन हुने गरी नौ मिलियन अमेरिकी डलर सहयोगमा कार्यक्रम अघि बढाइने छ । उक्त सम्झौतामा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपालस्थित दक्षिण कोरियाली राजदूत महामहिम पार्क ते–यङ्गले हस्ताक्षर गरेका थिए ।
त्यस्तै ‘फ्रुट्स एण्ड भेचिटेबल भ्यालु चेन डेभलपमेन्ट प्रोजेक्ट’ दोस्रो चरण हस्ताक्षर भएको छ । सन् २०२५ देखि २०३१ सम्म सञ्चालन हुने यस परियोजनाको बजेट १० मिलियन डलर रहेको छ । सम्झौतामा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा हरिबहादुर केसी र कोइका नेपालका देशीय निर्देशक मूहन कोङले हस्ताक्षर गरेका थिए । सुदूरपश्चिम पोलिटेक्निक इन्स्टिच्युट स्थापनाको अर्को परियोजनामा पनि हस्ताक्षर भएको छ । सन् २०२५ देखि २०३० सम्म कार्यान्वयन हुने यस परियोजनाको बजेट १० मिलियन डलर छ ।
सम्झौतामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव शिवकुमार सापकोटा र कोइका नेपालका निर्देशक मूहनले हस्ताक्षर गरेका थिए । समारोहमा निर्देशक मूहनले नेपाल र कोरियाबिचको दीर्घकालीन साझेदारी, समावेशी र दिगो विकासप्रतिको दृढ प्रतिबद्धता व्यक्त गर्दै शिक्षा, स्वास्थ्य, कृषि र सुशासनजस्ता क्षेत्रमा कोइकाको प्राथमिकता रहेको बताए ।
कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गानाले द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन कोइकाले पुर्याएको योगदानप्रति धन्यवाद ज्ञापन गर्दै नेपालका दिगो विकास लक्ष्य हासिल गर्न यसले खेलेको भूमिकाको प्रशंसा गरे ।