काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा नेपाली कांग्रेस निकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका उम्मेदवार भुवनसिंह गुरुङ विजयी भएका छन्। संघको ३० औं र ३१औं साधारणसभामा भएको निर्वाचनमा उनी प्रतिद्वन्द्वी नरेश गेलाललाई ६१ मतले हराउँदै विजयी भएका हुन् । विजयी गुरुङले ४२८ मत प्राप्त गर्दा गेलालले ३६७ मत ल्याए । निर्वाचित गुरुङ संघका पूर्व द्वितीय उपाध्यक्ष र गुरुङ म्यानेजमेन्ट प्रालिका सञ्चालक हुन्।
संघको निर्वाचनमा गेलाल समूहबाट दुई उम्मेदवार विजयी भएका छन्। प्रथम उपाध्यक्षको लागि उम्मेदवार सुजित कुमार श्रेष्ठले ३७५ मत ल्याएर जित हासिल गरे। उनले नरेन्द्रप्रसाद ढकाललाई ७३ मतले हराए। दोस्रो उपाध्यक्षको रूपमा देवकुमार खोखाली (गुरुङ प्यानल)विजयी भए ।
महासचिवमा महेशकुमार बस्नेत ४२३ मत प्राप्त गर्दै विजयी भए । सचिव पदमा कुन्छा दोर्जे डिङ्दोङले ३७४ मत ल्याए। यस्तै कोषाध्यक्षमा धनु सिंजाली ४२८ मतसहित विजयी भइन्। कार्यसमिति सदस्यका लागि भएका उम्मेदवारमध्ये पनि गुरुङ प्यानलको प्रभाव कायम रह्यो । जसमा रेखा शर्मा, कृष्ण ढकाल र भरत सापकोटालगायतका उम्मेदवार विजयी भए। निर्वाचनमा कुल ८९३ प्रतिनिधि सूचीकृत भए पनि ८१३ जनाले मतदानमा भाग लिएका थिए । जसबाट संघको निर्वाचनमा ९१ प्रतिशतभन्दा बढी मतदान खसेको थियो ।
यो निर्वाचनमा गुरुङ प्यानललाई नेकपा माओवादी केन्द्रनिकट गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्चले समर्थन गरेको थियो भने गेलाल प्यानललाई प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल र अन्य केही व्यवसायी समूहहरूले समर्थन गरेका थिए।