काठमाडौं । तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन काठमाडौंमा हुने भएको छ । यही चैत २९ देखि ३१ गतेसम्म राजधानीमा तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन हुन लागेको हो । सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपाल (सोटेन), भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयको संयुक्त आयोजनामा हुन लागेको सम्मेलनमा करिब ३ सय भन्दा बढी प्रतिनिधिको सहभागिता रहने छ ।
सम्मेलनका बारेमा जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा सोटेनका अध्यक्ष हरेराम श्रेष्ठले नेपालको यातायात क्षेत्रमा रहेको विद्यमान समस्या र समाधान गर्न यस सम्मेलन फलदायी हुने बताए । होटल याक एन्ड यतिमा तीन दिनसम्म चल्ने सम्मेलनमा यातायात क्षेत्रका विभिन्न विषयमा १६ वटा सत्र सञ्चालन हुनेछ । १२ देशका प्रतिनिधिको सहभागिता हुने सम्मेलनमा २२ जना अन्तर्राष्ट्रियसहित ४५ जना वक्ताको सहभागीतमा छलफल हुनेछ ।
सम्मेलनमा अन्तर्राष्ट्रिय अभ्यास र नेपालको यातायात क्षेत्रमा सुधार गर्नुपर्ने विषयमा छलफल हुने सोटेनका महासचिव हेमन्त तिवारीले बताए । सोटेनले हरेक दुई वर्षमा अन्तर्राष्ट्रिय सम्मेलन र हरेक वर्ष राष्ट्रिय सम्मेलन गर्दै आइरहेको छ । सोटेनका सचिव श्रवण कुमार थापाले यातायात क्षेत्रलाई दिगो र भरपर्दो बनाउनको सरोकारवाला निकायकाबीचमा समन्वयको खाँचो रहेकामा जोड दिए ।