काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा ३ खर्ब ६८ अर्ब रुपैयाँ विदेशी मुद्रा सञ्चिति थपिएको छ । गत असारको तुलनामा यो १८ प्रतिशतको वृद्धि हो । यससँगै गत फागुनसम्म कुल विदेशी मुद्रा सञ्चिति २४ खर्ब ९ अर्ब रुपैयाँ नाघेको राष्ट्र बैंकको मासिक प्रतिवेदनमा उल्लेख छ ।
२०८१ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेको थियो । ‘अमेरिकी डलरमा यस्तो सञ्चिति ०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा गत फागुन मसान्तमा १३.१ प्रतिशतले वृद्धि भई १७ अर्ब २७ करोड पुगेको छ,’ राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ ।
चालु आर्थिक वर्षको ८ महिनासम्मको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.२ महिनाको वस्तु आयात र १४.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको दाबी छ । २०८१ फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ४२.२ प्रतिशत, ११९.४ प्रतिशत र ३३.० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।