काठमाडौं । प्रधानमन्त्री दाहालले जलविद्युत विकासबाट नेपालसँगै छिमेकी मुलुक भारत तथा बङ्गलादेश पनि लाभान्वित हुने बताएका छ । विश्व बैंक दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरसँग प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार भएको शिष्टाचार भेटवार्तामा प्रधानमन्त्रीले जलविद्युत उत्पादन वृद्धि हुँदा हरित र स्वच्छ ऊर्जाको विकासबाट जलवायु परिवर्तनका असर न्यूनीकरण भई क्षेत्रीय तथा विश्वका सबै जनताले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ पाउने बताए।
उनले हालै भएको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमा नेपाल–भारत दीर्घकालीन सम्झौतामार्फत आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत लैजाने घोषणा गरेको सन्दर्भ उल्लेख गर्दै यसले जलविद्युतीय विकासमा नयाँ सम्भावना खोलेको बताएका छन् ।
उनले नेपालको जलविद्युत विकासमा सहकार्य गर्न बङ्गलादेशसँग पनि छलफल भइरहेको बताएका छन् । प्रधानमन्त्रीले नेपाल र विश्व बैंकबीच ६ दशकभन्दा लामो सहकार्यको स्मरण गर्दै नेपालले विकास प्रक्रियामा भोग्नु परेका जलवायुजन्य चुनौती र हरित विकासका सम्भावनाबारे छलफल गरेका छन् । उनले माथिल्लो अरुण आयोजनामा विश्व बैंक वित्तीय स्रोत जुटाउन वहन गरेको समन्वयकारी पहलका लागि धन्यवाद दिँदै नेपाल सरकारको प्राथमिकतामा रहेको सो आयोजना कार्यान्वयन गर्न स्रोत व्यवस्थापन गरिँदा अन्य आयोजनामा स्रोतको कमी हुन नदिनेतर्फ ध्यानाकर्षण गरेका छन्