काठमाडौं । बैंकहरूले कर्जाको व्याजदर घटाएका छन् । बैंकहरूको आधारदर ०.२ देखि ०.५ प्रतिशतसम्म कर्जाको व्याजदर घटेको हो ।
आधारदर घटेसँगै ऋणको व्याजदर पनि सोही अनुपातमा घटेको एभरेष्ट बैंकका सीईओ सुदेश खालिङले बताएको छ ।
स्प्रेडदर (कर्जा र निक्षेपको ब्याजदरबीचको अन्तर) असारमा ४ प्रतिशतमा ल्याइसक्नुपर्ने भएकाले कतिपय बैंकहरूले बेसरेटभन्दा केही कममा पनि ऋण प्रवाह गर्नसक्ने जानकारी दिंदै खालिङले त्यसमा प्रिमियम भने जोडिने जानकारी दिएका छन् ।
राष्ट्र बैंकको तथ्यांकअनुसार चैतमा १२.८४ प्रतिशत रहेको कर्जाको औसत ब्याजदर वैशाखमा १२.६५ प्रतिशत थियो । जेठमा १२.४५ प्रतिशतमा झरेको छ । योसँगै ऋणको व्याजदर पनि यही अनुपातमा घटेको हो ।
यसअघि निक्षेपको व्याजदर घटाएका बैंकहरूले कर्जाको ब्याजदर चलाउन पाएका थिएनन् । पछिल्लो पटक राष्ट्र बैंकले कर्जाको ब्याजदर परिवर्तन एक महिनामै गर्नसक्ने व्यवस्था गरेको छ । निक्षेपको भने मासिकरूपमै परिवर्तन गर्न सकिने व्यवस्था छ । असारमा निक्षेपको व्याजदर यथावत् नै राखिएको छ ।