काठमाडौं । बुकीपाटनको उत्तर पट्टी देखिने अनगिन्ती हिमशृङ्खला । चारैतिर हरियाली पहाड । त्यही पहाडका डाँडैभरि सेताम्मे भेडाका बथान । छेउछाउमा बाँसको चित्रा र प्लास्टिकका त्रिपालले बेरिएका केही अस्थायी गोठ । जहाँ केही थान दुःख, केही थान खुसी र केही थान आशा बोकेर बसेका गोठाला भेटिन्छन् र उनीहरूसँगै भेटिन्छन् भर्खरै जन्मिएरका भेडाका पाठा । जसले लेकाली जनजीवनलाई छर्लङ्ग पार्छ । समथर चौरमा चर्दै गरेका भेडाले धेरैलाई आकर्षित गरेको छ ।
हिजोआज त्यही भेडीगोठ र भेडाका बथान हेर्ने बुकीपाटन पुग्ने पर्यटक बढ्दै छन् । हजारौँ भेडा र सयौँ गोठालको बासस्थन बनेको छ ढोरपाटन बुकीपाटन अब पर्यटक घुम्ने ठाउँका रूपमा पनि विकास हुँदै छ । यति बेला बुकीपाटनमा घाँस पलाएर हरियाली बनेको छ । त्यही हरियालीमा सेताम्मे भेडाका बथाले बुकीपाटनको सुन्दरतालाई बढाएको छ । पाँच वर्ष अगाडिसम्म बुकीपाटन भेडा गोठालाका लागि मात्रै प्यारो थियो । तर अहिले प्राकृतिक सुन्दरतासँग रम्नेका लाग अझ बढी प्रिय बनेको छ ।
भेडाका बथानले ढपक्क ढाकिएको बुकी हेर्न हजारौँ पर्यटक लालायित छन् । ढोरपाटन उपत्यका पुग्ने जो कोही पर्यटक बुकीपाटन सहजै पुग्न सक्दैन । उच्च पहाडी क्षेत्र रहेको हुँदा लेक लाग्ने सम्भावना बढी हुन्छ । पछिल्लो दुई वर्षयता बुकीपाटन पुग्ने पर्यटक र पत्रकारले त्यहाँको दृश्य सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्न थालेपछि ढोरपाटन उपत्यका पुग्ने पर्यटकले बुकीपाटनको यात्रा तय गर्ने छन् । बुकीपाटन पुग्न सडक सञ्जालको सुविधा छैन । अघिल्लो वर्षसम्म गोरेटोमार्फत भेडीगोठाला र पर्यटक बुकीपाटन उक्लिने गर्थे । यस वर्ष भने पदमार्ग बनेको छ ।
नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा पर्ने बुकीपाटन पर्यटक आकर्षणको केन्द्र बन्दै गएको छ । यहाँ आउने पर्यटकको नजरमा सबैभन्दा पहिले भेडाका बथान र भेठी गोठमा पुग्ने गर्छ । ढोरपाटन पाखाथरदेखि करिब पाँच घण्टाको पैदल यात्राान बुकीपाटनको पहिलो गन्तव्य गर्पाछेडा पुगिन्छ । गर्पाछेडा पुग्दा बित्तिकै चारै तिर हजारौँका सङ्ख्यामा छरिएर चर्दै गरेका भेडाका बथान देख्दा पर्यटकको थकाननै मेटिने गर्छ । बुकीपाटनमा आउने अधिकांश पर्यटक भेडाका बथानसँग रमाउने ढोरपाटनका भेठी गोठाला भक्त अदैले बताए ।