काठमाडौं । अर्घाखाँची पाणिनी गाउँपालिका–१ कोप्चेमा मंगलबार बिहान पहिराले खस्दा ३ जना बालबालिकाको मृत्यु भएको छ। १ जना बालकको उद्धार गरेर उपचारका लागि पाल्पा अस्पताल लगेएको गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले बताए। उनका अनुसार बिहान ६ बजे घरमाथिको ढिस्को खस्दा गंगा रास्कोटीको घर पुरिएको हो।
मृत्यु हुनेमा ११ वर्षकी अन्जना रास्कोटी, १० वर्षका खुमबहादुर रास्कोटी र ९ वर्षका धनबहादुर रास्कोटी रहेका छन्। १४ वर्षका सचिन्द्र रास्कोटी गम्भीर घाइते रहेको न्यौपानेले बताए।
मृतक र घाइते बालबालिका भाइभाइका छोरा हुन्। परिवारका सदस्य उठेर काममा गएका बेला घरभित्रै सुतिरहेका बालबालिका पहिरोमा परेका थिए। बालबालिकाको शव पोखराथोकमा रहेको स्वास्थ्य केन्द्रमा लैजाने र पोस्टमार्टमपछि परिवारलाई बुझाइने अध्यक्षले बताए।