Thursday, June 05, 2025

२०८२ जेष्ठ २३, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अमेरिकाले फिलिपिन्सलाई २० वटा एफ–१६ लडाकू विमान बिक्री गर्ने


अमेरिकाले फिलिपिन्सलाई २० वटा एफ–१६ लडाकू विमान बिक्री गर्ने

एजेन्सी । अमेरिकाले फिलिपिन्सलाई २० वटा एफ–१६ लडाकू विमान बिक्रीलाई अनुमोदन गरेको छ । अमेरिकी विदेश मन्त्रालयले ५ अर्ब ५८ करोड अमेरिकी डलर बराबरको लडाकू विमान फिलिपिन्सलाई बिक्री गर्न लागेको बताएको एएफपीले जनाएको छ । यी लडाकू विमान बिक्रीले दक्षिणपूर्वी एशियामा राजनीतिक स्थिरता, शान्ति र आर्थिक प्रगतिका लागि महत्त्वपूर्ण शक्तिका रूपमा रहेको रणनीतिक साझेदारको सुरक्षामा सुधार ल्याउने मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

दक्षिण चीन सागरमा फिलिपिन्स र चीनबीच महिनौंदेखि चलिरहेको टकरावपछि यो समाचार सार्वजनिक भएको हो । यसले चीन र फिलिपिन्सबीचको टकराब अझ बढ्ने देखिएको छ । चीनले फिलिपिन्सले क्षेत्रीय शान्तिलाई ‘चुनौती’ दिइरहेको भन्दै उसलाई लडाकू विमान खरिद नगर्न चेतावनी दिएको थियो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले फिलिपिन्सको अन्य देशसँगको रक्षा र सुरक्षा सहकार्यले कुनै पनि तेस्रो पक्षको हितलाई हानि पु¥याउन नहुने बताएका छन् ।

फिलिपिन्स र अमेरिकाले सन् २०२२ मा राष्ट्रपति फर्डिनान्ड मार्काेसले कार्यभार सम्हालेपछि र दक्षिण चीन सागरमा चीनको व्यापक दाबीलाई पछाडि धकेल्न थालेपछि आफ्नो रक्षा सहयोगलाई अझ प्रगाढ बनाएका छन् । गएको डिसेम्बरमा फिलिपिन्सले आफ्नो सामुद्रिक हितलाई सुरक्षित राख्न अमेरिकाको मध्यम दूरीको टाइफन क्षेप्यास्त्र प्रणाली अधिग्रहण गर्ने योजना बनाएको बताएपछि चीन आक्रोशित बनेको थियो ।

चीनले यस्तो खरिदले क्षेत्रीय ‘हतियारको होडबाजी’ निम्त्याउन सक्ने चेतावनी दिएको  छ । मङ्गलवार चिनियाँ जहाज र लडाकू विमानले ताइवानलाई सिमुलेटेड नाकाबन्दीमा घेरिरहेका बेला फिलिपिन्सका सैन्य प्रमुख जनरल रोमियो ब्राओनरले स्वशासित टापुमा आक्रमण गरिएमा आफ्नो देश ‘अनिवार्य रूपमा’ संलग्न हुने बताएका थिए ।