Friday, November 29, 2024

२०८१ मंसिर १४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आफ्नै एआई चिप निर्माणको तयारीमा ओपनएआई


आफ्नै एआई चिप निर्माणको तयारीमा ओपनएआई

एजेन्सी । च्याटजीपीटी लगायत विभिन्न चर्चित आर्टिफिसियल इन्टेलिजेन्स प्लाटफर्महरूको निर्माता कम्पनी ओपनएआईले आफ्नै एआई चिप निर्माण गर्ने पहल थालेको छ । एडभान्स्ड चिप बजारमा भएको अभाव समाधानका लागि ओपनएआईले उत्पादकर्ता कम्पनीहरू खाका बनाइ ती कम्पनी खरिद गर्ने योजना बनाएको छ ।

यस विषयमा जानकार स्रोतलाई उदृत गर्दै समाचार संस्था रोयटर्सले प्रकाशित गरेको एक रिपोर्टअनुसार ओपनएआईले कुनै कम्पनी खरिद वा कुनै अर्को उत्पादकसँग साझेदारीमा चिप निर्माण गर्ने भन्ने अन्तिम निर्णय भने गरिसकेको छैन । कम्पनीका प्रमुख साम अल्टम्यानले सार्वजनिक कार्यक्रममा च्याटजीपीटीजस्ता एआई प्लाटफर्म पूर्णरूपमा निर्भर रहने एड्भान्सड चिपहरूको अभावका बारेमा बोल्ने गरेका छन् ।

अहिले ओपनएआईसँग उपलब्ध विकल्पहरूमा प्रमुख चिप निर्माता कम्पनी एनभिडियासँग साझेदारी गर्ने पनि एक रहेको छ । एनभिडियाले एआई प्लाटफर्महरूका लागि आवश्यक पर्ने चिपहरूमध्ये झन्डै ८० प्रतिशत बजार हिस्सा ओगटेको छ । विश्व बजारमा एआई प्लाटफर्म र सफ्टवेयर निर्माणमा आएको उल्लेख्य वृद्धि र अमेरिका-चीन चिप तनावका कारण खलबलिएको आपूर्ति संयन्त्रले गर्दा यस्ता चिपहरूमा निर्भर रहने ओपनएआईजस्ता कम्पनीहरूले कठिनाईको सामना गर्दै आएका छन् ।

ओपनएआईजस्ता प्रमुख कम्पनीले प्रयोग गर्ने एनभिडिया ए१०० जीपीयुजस्ता एउटै एआई चिपको ४० हजार डलर हाराहारीमा पर्ने भएकाले पनि च्याटजीपीटी निर्माताहरूले विकल्प खोज्न सुरू गरेको अनुमान विज्ञहरूको छ । सन् २०२० यता माइक्रोसफ्टको सहयोगमा आफ्नै जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स सहितको सुपरकम्प्युटर निर्माण गरेको ओपनएआईले सो क्रममा झन्डै १० हजारभन्दा बढी अत्यन्तै महँगो जीपीयु चिपहरूको प्रयोग गरेको थियो । बर्नस्टेन एनालिस्ट स्टेसी रास्गनले गरेको एक अध्ययनमा च्याटजीपीटीमा आउने एक प्रश्नको उत्तर दिन कम्पनीको अमेरिकी ४ सेन्ट (पैसा) खर्च हुने देखिएको थियो । यो हिसाबले ओपनएआईजस्ता कम्पनी चलाउन निकै महँगो रहेको देखिन्छ । गुगलले सामना गर्ने प्रश्नहरूमध्ये दस भागको एक भाग मात्रै पनि च्याटजीपीटीमा आउने हो । त्यसका लागि आवश्यक पूर्वाधार बनाउन ओपनएआईले सुरूमा ४८ अर्ब अमेरिकी डलरको त चिप मात्रै खरिद गर्नुपर्ने र वार्षिक झन्डै १६ अर्ब अमेरिकी डलरको जीपीयु चिप चाहिने अध्ययनहरूले देखाएका छन् ।

एआई चिपहरूको बढ्दो लागत र बजारमा दोहोरिने अभाव हेर्दै गुगल, अमेजनजस्ता ठूला कम्पनीहरूले पनि कस्टम चिपको डिजाइन र उत्पादनको पहल सुरू गरिसकेका छन् । मेसिन लर्निङ, क्लाउड गेमिङ, हाइ पर्फरमेन्स कम्प्युटिङ र जेनेरेटिभ एआई प्रविधिमा भएको पछिल्लो उछालले सन् २०३२ सम्ममा एडभान्स्ड जीपीयुको विश्वव्यापी बजार ७७३ अर्ब अमेरिकी डलरको हुने अनुमानहरू सार्वजनिक भएका छन् । अमेरिका र चीनसँगै विभिन्न देशहरू घोषित रूपमै उन्नत चिपहरूको विकास र नियन्त्रणको प्रतिस्पर्धामा छन् भने भूराजनीतिको चपेटामा परेका ओपनएआईजस्ता सिलिकन भ्याली कम्पनीहरू आफ्नै चिप निर्माण गर्ने उपायको खोजीमा लागेका छन् ।