काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र थाइल्यान्डको थाई चेम्बर अफ कमर्स एण्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्यको तथा व्यापार अभिवृद्धि गर्न समझदारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राको उपस्थितिमा समझदारीपत्रमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र थाई ट्रेडका अध्यक्ष सानन अंगुबोल्कुलले हस्ताक्षर गरेका हुन् ।
महासंघ र बोर्ड अफ ट्रेडबीच समझदारीले नेपाल र थाइल्यान्डबीच व्यापारिक सम्बन्धलाई सुदृढ गर्ने, आर्थिक सहकार्यलाई प्रवद्र्धन गर्ने तथा व्यापार र लगानी विस्तारका लागि संरचित रूपरेखा तयार गर्ने लक्ष्य राखेको छ । साथै दुई देशबीचको व्यापारिक सहकार्यलाई थप मजबुत बनाउने र आर्थिक सहकार्यलाई विस्तार गर्न महत्वपूर्ण योगदान गर्ने विश्वास गरिएको महासंघले जनाएको छ ।
समझदारीअन्तर्गत दुवै पक्षले व्यापार प्रवद्र्धन, संयुक्त उद्यमको सुविधा, व्यापारिक जानकारी आदानप्रदान र औद्योगिक सहकार्यलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । व्यापार मेला, व्यवसायिक फोरम, र विशेष आर्थिक कार्यक्रमहरूमा सहभागितालाई प्रोत्साहन गर्ने विषय समझदारीपत्रमा समावेश गरिएको छ ।
विवाद समाधान प्रणालीलाई प्रवद्र्धन गर्ने र प्राविधिक विशेषज्ञता तथा तालिम आदानप्रदानलाई सशक्त बनाउने विषय पनि समझदारीपत्रमा उल्लेख छ । समझदारी पत्रमा हस्ताक्षरपछि महासंघका अध्यक्ष ढकालले नेपाल र थाइल्याण्डबीच लगानी एवं व्यापार विस्तारको थप ढोका खुलेको प्रतिक्रिया दिए ।
थाई ट्रेडका अध्यक्ष सानन अंगुबोल्कुल थाइ व्यवसायी नेपालसाग लगानी र व्यापार विस्तार गर्न इच्छुक रहेको जनाए । बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल बिम्सटेकको अवसर पारेर गरिएको समझदारीपत्र तीन वर्षसम्म लागू हुनेछ । यसले नेपाली तथा थाई व्यवसायहरूबीच निरन्तर सहकार्यका लागि एक मजबुत आधारको रूपमा काम गर्नेछ ।