काठमाडौं, २० असार । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको विषय उठ्दै गर्दा सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । करिब एक वर्षपछि असार २७ गते बुधबार, दिउँसो २ बजे केन्द्रीय कार्यसमिति बैठक बस्दै छ ।
शीर्ष नेताहरुबीच बिहान भएको छलफलमा एक सातामा बैठक आह्वान गर्ने सहमति भएको कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले बताए । पार्टीभित्र आन्तरिक असन्तुष्टी बढ्दै जादा पार्टी सभापति शेरबहादुर देउवा केन्द्रीय कार्यसमिति बैठक बोलाउन सहमत भएका हुन । कांग्रेस विधानमा दुई,दुई महिनामा केन्द्रीय कार्यसमिति बैठक बोलाउने प्रावधान भएपनि एक बर्षदेखि बैठक बस्न सकेको थिएन ।
ललितपुरको सानेपा स्थगित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा मुख्यगरि संघ, प्रदेश र स्थानीय तह निर्वाचन समिक्षा, गठबन्धन र गठन्धन नेतृत्वको सरकारको पछिल्लो गतिविधि, प्रदेशमा आफ्नो नेतृत्वमा सरकार बनाउने, भातृ तथा शुभेच्छुक संस्थाहरुको पुर्णता, नीति अधिवेशन लगायतका विषयमा छलफल हुने प्रचार विभाग प्रमुख विश्वकर्माले बताएका छन् । गत वर्ष असार २७ देखि साउन २ गतेसम्म बसेको कांग्रेस बैठक त्यस यता बस्न सकेको थिएन ।
केन्द्रीय कार्यसमिति बैठक बोलाउन यसअघि महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्तरुपमा वक्तव्य जारी गरेका थिए । पार्टीमा असन्तुष्टि बढ्दै जादा विशेष महाधिवेशनको माग समेत उठ्ने गरेको छ । लामो समय केन्द्रीय समिति बैठक बस्न नसक्दा पछिल्लो समय पार्टीभित्र आन्तरिक असन्तुष्टी बढ्दै गएको थियो ।