काठमाडौं । राजावादीको आन्दोलन हिंसात्मक बनाएको आरोपमा पक्राउ दुर्गा प्रसाईंलाई आज सार्वजनिक गरिने भएको छ । १५ चैतको प्रदर्शनका नाममा हिंसा भड्काएर फरार भएका उनलाई नेपाल प्रहरीको विशेष ब्युरोले पूर्वी नेपालको सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको बुझिएको छ । यद्यपि, प्रसाईंका सहयोगीहरूले भने, उनले भारतको आसाम प्रहरीमा आत्मसमर्पण गरेको दाबी गरेका छन् ।
उनलाई आज काठमाडौं ल्याइ सार्वजनिक गर्ने तयारी भएको प्रहरीको उच्चस्रोतको भनाई छ । उत्पात मच्याएर भागेका प्रसाईंलाई खोज्न नेपाल प्रहरीका तीन टोली भारतसम्म पुगेका थिए । यता, प्रसाईंलाई भारतमा पक्राउ गरिएको विषयलाई भने प्रहरीले खण्डन गरेको छ । गएराति प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले जारी गरेको विज्ञप्तीमा ‘विभिन्न आपराधिक घटनामा संलग्न रही फरार दुर्गा प्रसाईं नेपाल प्रहरीको खोजीको सूचीमा रहेको जानकारी गराउँदै हालसम्म पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन-प्रशारण नगरिदिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछौं ।’ भन्ने उल्लेख छ । उता, प्रसाईंका समर्थकहरुले सामाजिक सञ्जालमार्फत प्रसाईंले भारतको आसाम प्रहरीमा आत्मसमर्पण गरेको दाबी गरेका छन् ।
यसैबीच, राजसंस्था पुनःस्थापनाका लागि बनेको संयुक्त जनआन्दोलन समितिले दुर्गा प्रसाईंले प्रहरीसामु आत्मसमर्पण नगरेको जनाएको छ । उनले आफूलाई सुरक्षित नेपालसम्म पु¥याइदिन भारतीय प्रहरीलाई अनुरोधमात्र गरेको समितिको भनाइ छ । दुर्गा प्रसाईं भारतमा पक्राउ परेको समाचारहरू आएपछि समितिका प्रवक्ता स्वागत नेपालले एक विज्ञप्ति जारी गरी प्रष्टीकरण दिनुभएको हो ।
उहाँले प्रसाईंको जीउज्यानको सुरक्षा गर्न माग गर्नुभएको छ । यता, प्रसाईं भागे पनि प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महमन्त्री धवलशमशेर राणासहित ७९ जनालाई पक्राउ गरेको छ । प्रहरीले मिश्र र राणालाई राजद्रोह, संगठित अपराध र सार्वजनिक उपद्रवसहितका मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।