काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ । आइतबार बसेको १७ औं नगरसभाको पहिलो बैठकमा उपप्रमुख सुनिता डंगोलले सो बजेट सार्वजनिक गरेकी हुन् । २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुनेगरी सो रकमको अनुमानित बजेट सार्वजनिक गरिएको हो ।
बजेट ल्याउनुअघि मेयर बालेन्द्र शाह बालेन ले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नु पर्ने भए पनि काठमाडौं महानगरभित्रको आन्तरिक द्वन्द्वले ढिला भएको हो । बजेट ल्याउन ढिला भएको भन्दै त्यसमा उपप्रमुख डंगोलले माफी समेत मागेकी थिइन् ।
काठमाडौं महानगरपालिकाकाले अर्को नगर सभा बैठक आगामी असार ३२ गतेका लागि आह्वान भएको छ । चालु आर्थिक वर्षको ०८१—०८२ को प्रगाति समीक्षा र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम, आर्थिक विधेयक–२०८२ र विनियोजन विधेयक २०८२ उपर छलफल र पारित गर्नका लागि सो बैठक आह्वान गरिएको हो ।