दोलखा । दोलखाको तामाकोसी गाउँपालिकाले स्वैच्छिक अवकाश लिने शिक्षकलाई तीन लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
गाउँपालिकाले स्थायी सेवा अवधि २० वर्ष पूरा भएको र ५५ वर्ष उमेर पूरा भएका शिक्षकले अवकाश लिएमा तीन लाख सम्म रकम दिने निर्णय गरेको हो ।
गाउँपालिकाले एक सूचना जारी गर्दै ‘शिक्षक स्वर्णिम अवकाश कार्यक्रम कार्यान्वयन कार्यविधि –२०७९’ अनुसार दरबन्दी मिलान गर्न र धेरै वर्ष काम गरेका शिक्षकहरू बिदा लिन चाहेको अवस्थामा नयाँ शिक्षक ल्याउँदा शैक्षिकस्तर उकास्न सकिने अपेक्षासहित सुविधा दिन अधिकतम तीन लाख रुपियाँसम्म उपलब्ध गराउने भनि व्यवस्था मिलाएको छ ।
सोही अनुरुप, कार्यक्रममा सहभागी हुन चाहने शिक्षकलाई जेठ २४ गतेभित्र निवेदन दिन पालिकाले सूचना जारी गरेको छ ।
सो पालिका भित्रका विद्यालयमा आधारभूत तहमा अहिले १ सय ८६ जना शिक्षक कार्यरत छन् । प्राथमिक तहको स्थायी दरबन्दीमा कार्यरत शिक्षकको संख्याा १ सय ३९ छ । यी मध्ये १५ देखि २० जनासम्म शिक्षकले सो योजनामा सहभागिता जनाउने अनुमान गरेको पालिकाको शिक्षा शाखाले जनाएको छ ।