काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले आगामी आर्थिक वर्षको बजेटमा राष्ट्रिय गौरवका योजनाहरूलाई अगाडि बढाउनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०,८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद पाण्डेले राष्ट्रिय गौरवका योजनालाई अगाडि बढाउनुपर्ने धारणा राखेका हुन् ।
जस्तोसुकै कठिन घडीमा पनि राष्ट्रिय गौरवका योजनाहरूलाई अघि बढाउन बजेट व्यवस्थापन गर्नुपर्ने सांसद पाण्डेको भनाइ थियो । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र बूढीगण्डकी आयोजना निर्माणलाई विशेष जोड दिनुपर्ने पाण्डेको भनाइ थियो । काठमाडौं हुँदै धार्के, मुग्लिन पारी भएर गैंडाकोटसम्म जाने सडक निर्माण गर्नुपर्ने र त्यसका लागि बजेट विनियोजन गर्नुपर्ने उनले माग गरेका छन् ।