काठमाडौं । नेपाल राष्ट्र बैंकले भारु दुई हजारको नोट नचलाउने भारत सरकारको निर्णयले नेपालमा कुनै असर नगर्ने जनाएको छ ।
नेपालमा भारु दुई हजारको नोटले वैधता नपाएपनि सीमावर्ती क्षेत्रमा केही नोटहरु रहेको हुन सक्ने र साट्ने अवधि लामो रहेकाले नसाटिने जोखिम नरहेको राष्ट्र बैंकले जनाएको छ । सन् २०१६ मा भारत सरकारले नोटबन्दी गर्दा नेपालमा चलनचल्तीमा रहेको ५ करोड भारतीय रुपैयाँ अझै नेपालको केन्द्रीय बैंकमा थन्किएर बसेको छ ।
भारतले त्यतिबेला बैंकिङ प्रणालीमा नरहेको पैसा सटही गरेपछि नागरिकसँग रहेको पैसा बैंकले संकलन गरेको ५ करोड भन्दा बढी भारु सटही हुन नसकेको हो । पुनः १ अक्टोबर २०२३ देखि लागु हुनेगरी रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) ले २ हजार दरका नोट चलनचल्तीमा बन्द गर्ने निर्णय गरेको छ ।
सन् २०१६ मा नोटबन्दी गरिएको ५ सय र १ हजार दरका भारु नोट नेपालमा चलनचल्तीका लागि वैधानिक थियो । तर, अहिले बन्द गर्ने निर्णय गरेको २ हजार दरको भारु सर्वसाधारणले प्रयोग गर्न प्रतिबन्धित छ ।