काठमाडौं, ७ जेठ । औद्योगिक ट्रान्स फ्याट भएका खाना स्वास्थ्यका लागि हानिकारक रहेको र ती खानामा ट्रान्स फ्याटको मात्रा निर्धारित हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आयोजना गरेको औद्योगिक ट्रान्स फ्याटसम्बन्धी कार्यक्रममा सरोकारवालाले सो कुरामा जोड दिएका हुन् । विभागका महानिर्देशक डा मतिना जोशी वैद्यको अध्यक्षतामा भएको कार्यक्रममा विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा बालकुमारी शर्माले औद्योगिक ट्रान्स फ्याटसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
औद्योगिक ट्रान्स फ्याट भएका खानाहरू वनस्पति घिउ, मार्गारिन, केक, बिस्कुट, पटक पटक एउटै तेलमा तारेका खानकुरा आदि रहेका छन् । त्यसले स्वास्थ्यमा पार्ने असरका बारेमा उहाँले प्रस्ट पार्नुभएका थियो । अन्तर्राष्ट्रिय क्षेत्रमा भएका औद्योगिक ट्रान्स फ्याटको नियमनसम्बन्धी कार्यहरू, डब्लुएचओको सन् २०२३ सम्म संसारभरबाट औद्योगिक ट्रान्स फ्याटको सीमा निर्धारण गर्नेसम्बन्धी नीति, नेपाल सरकारको नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना २०२१–२०२५ मा ट्रान्स फ्याट सीमित गर्ने नीति ग्रहण गर्ने, औद्योगिक प्रव्रिmयाबाट उत्पादित खानेकुरामा ट्रान्स फ्याटको मात्रा २ प्रतिशतभन्दा तल तथा विभागले तयार गरेको खाद्य पदार्थमा औद्योगिक ट्रान्स फ्याटको सीमा निर्धारणको प्रस्तावित मस्यौदाका बारेमा उहाँले प्रस्तुति दिनुभयो ।