Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एआईको कारण किन अमेरिका चिन्तामा छ ?


एआईको कारण किन अमेरिका चिन्तामा छ ?

एजेन्सी । ३१ मार्च २०२३ अमेरिकाका लागि एउटा महत्वपूर्ण दिन थियो । त्यो दिन जब अमेरिकाको अदालतमा पूर्व राष्ट्रपति डोनाल्ट ट्रम्पविरुद्धमा आरोपपत्र दायर भएको थियो ।

यहि बीचमा एउटा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो, जुन अहिलेको बोलीमा भन्दा ‘भाइरल’ हुन पुग्यो । उक्त भिडियोमा अमेरिकाका वर्तमान राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले ह्वाइट हाउसमा उत्सव मनाइरहेको देखिन्थ्यो ।

तर, भिडियोलाई राम्रोसँग नियाल्दा अमेरिकी उपराष्ट्रपति ह्यारिसको हातमा ६ वटा औलाहरु थिए । सँगै उनको हातको माथिल्लो भाग गायब थियो ।


भिडियो सार्वजनिक भएपछि धेरैले यो भिडियोमा देखिएका दृश्यहरुलाई पत्याएका थिए । तर, यर्थाथ अर्कै थियो ।

वास्तवमा त्यो दिन अमेरिकी राष्ट्रपति बाइडेन र उपराष्ट्रपति ह्यारिस कोही पनि ह्वाइट हाउसमा उपस्थित थिएनन् । तर, उनीहरुको यो फेक भिडियो र तस्बिरहरु लाखौं मानिसहरुले देखेका थिए ।

यो भिडियो एआई अर्थात् आर्टिफिसियल इन्टिलिजेन्सको सहायताले बनाइएको थियो । उक्त भिडियोजस्ता अन्य भिडियो, फोटो र लेखजस्ता प्रचार सामग्रीहरु आगामी अमेरिकी राष्ट्रपति चुनावको समयमा लाखौं मतदातामाझमा पुग्ने दृष्टान्त यो घटनाले देखाएको थियो । तीव्र गतिमा यस्ता सामग्रीहरुको उत्पादनमा भइरहेको विकासका कारण यीनिहरुले धेरैलाई भ्रममा पार्ने पनि देखिएको छ ।

यो घटनापछि एआई र त्यसले चुनावमा पार्नसक्ने प्रभावलाई लिएर अनेक आकंलनहरु सुरु भयो । यी सामग्रीहरु मतदाताहरुको व्यक्तित्वको आधारमा निर्माण गर्दै उनीहरुलाई पठाइने र चुनावलाई प्रभावित पार्न सक्ने अहिले विश्लेषकहरुले बताइरहेका छन्।

यस्ता आर्टिफिसियल इन्टिलिजेन्स अर्थात एआईहरुमध्ये सबैभन्दा चर्चित एआई अहिले च्याटजीपीटी रहेको छ । जेनेरेभिव एआई रहेको च्याटजीपिटी गत वर्ष नोभेम्बरमा सार्वजनिक भएको थियो । अहिले यो सर्वसाधारणका लागि विश्वभरमा नै उपलब्ध छ । र यसको प्रयोगबाट कैयौं सकरात्मक उपयोगहरु पनि भएका छन् । तर, सँगै यसले जोखिम पनि ल्याएको छ ।

च्याटजीपीटी, मिडजर्नी, स्टेबल डिफ्युजनजस्ता एआईहरु अहिले तीव्र रुपमा विकसित भइरहेका छन् । कुनै पनि व्यक्तिको तस्बिर, भिडियो, आवाजलगायतका कुराहरुलाई जस्ताको त्यस्तै नक्कल गर्न सक्ने किसिमले यीनीहरुको विकास हुँदा यसले जोखिम पनि नित्याएको भनेर बहस सुरु भएको छ ।

च्याटजीपीटी इन्टरनेटमा उपलब्ध रहेका लाखौं जानकारीहरुलाई नियालेर त्यसबाट लेख वा ब्लग लेख्न सक्ने एआई हो । यसले गीतदेखि कवितासम्म, कसैका लागि भाषणदेखि निवेदनसम्म लेख्न सक्छ । यस्तो अवस्थामा मतदाताहरुलाई उनीहरुसम्म आइपुगेको प्रचार सामग्री वास्तविक हो वा होइन भन्ने ठम्याउन नै कठिन हुने अवस्था सिर्जना भएको छ ।

एआईको तीव्र विकास र यसको जोखिम पनि बढ्दै जाँदा आगामी अमेरिकी राष्ट्रपति चुनावमा यसले कस्तो भूमिका खेल्छ भन्ने कुरा महत्वपूर्ण देखिएको छ । विश्वकै शक्ति राष्ट्रको रुपमा यथावत रहेको अमेरिका र त्यहाँ राष्ट्रपछि, जो विश्वकै शक्तिशाली व्यक्तिमध्येमा पर्छन्, उनलाई नै छान्ने विषयमा एआईले प्रभाव पार्न सक्छ वा सक्दैन भन्ने विषय अहिले बहसको रुपमा अघि आएको छ ।


डिजिटल राजनीति

 

चुनावी राजनीतिमा एआईको प्रयोगको विषयलाई बुझ्नका लागि हायर ग्राउन्ड्स ल्याबकी सहसंस्थापक बेट्सी हूवरको कुराहरु महत्वपूर्ण छन् । यो कम्पनी चुनावको समयमा प्रयोग हुने प्राविधिक उपकरण तथा नयाँ प्रविधिहरुमा लगानी गर्ने कम्पनी हो ।

बेट्सीले सन् २००७ देखि आगामी अमेरिकी राष्ट्रपतिय चुनावका लागि पूर्व राष्ट्रपति बाराक ओबामाको प्रचारमा अग्रनाइजर (आयोजक) का रुपमा काम गर्दै राजनीतिमा कदम राखेकी थिइन् ।

उनी भन्छिन्, ‘त्यो बेला ओबामा नै पहिलो उम्मेदवार थिए, जसले चुनावमा प्रचारप्रसारमा जनतासँग सम्पर्क गर्नका लागि र जनसंगठन विस्तारका लागि डिजिटल प्रविधिको भरपुर प्रयोग गरेका थिए । त्यो समयमा हामीसँग जनशक्ति र लगानीको पनि कमी थियो । यो कठिनाईलाई कम गर्न हामीले डिजिटल प्रविधिको प्रयोगको उपाय अपनाएका थियौं । यसलाई प्रयोग गर्दै हामीले सुरुवातमा राज्यस्तरमा र पछि राष्ट्रिय स्तरमा अपनाउनका लागि रणनीतिहरु अपनाएका थियौं ।

उनकाअनुसार यसले केवल पैसाको बचत मात्रै नगरेर थप प्रभावकारी रुपमा जनतासम्म पुग्न सहायता गरेको थियो ।

मतदाता घरमा वा कार्यालयमा वा अन्य कुनै ठाउँमा हुँदा पनि उनीहरुको साथमा सदैव फोन हुन्थ्यो । जसकारण डिजिटल माध्यमबाट मतदातालाई सम्पर्क गर्नु एउटा राम्रो विकल्प थियो ।

तर, के यसो गर्दा मतदाताहरुले आफूसँग उम्मेदवारले प्रत्यक्ष रुपमा सम्पर्क नगरेको भन्ने महसुस त गर्दैन थिए ? हूवर भन्छिन्, ‘हामीले पनि यो विषयलाई लिएर निकै बहस गरेका थियौं । मतदाताहरुसम्म म्यासेज, इमेल र फेसबुकको प्रयोगबाट सन्देश पुगिरहेको थियो । तर, हामी यो शैली प्रत्यक्ष सम्पर्क गरेजस्तो प्रभावकारी छ वा कम प्रभावकारी छ भन्ने विषयमा सोचिरहेका थियौं । तर, यी सबैका बीच पनि हामी यो माध्यम अपनाउँदा एकै समयमा धेरै मानिसहरुमाझमा भने पुग्न सकिरहेका थियौं ।’

ओबामाले सन २००८ को चुनावमा जीत हासिल गरे । सन् २०१२ मा उनी पुनः राष्ट्रपतिमा चुनिए ।

तर, त्यसयता हेर्ने हो भने चुनावमा प्रयोग हुने प्रविधिको अवस्था निकै फेरिएको छ । विगत १० वर्षमा चुनावी अभियानमा प्रविधिको प्रयोग र यसको भूमिकासँगै यसले राख्ने प्रभावकारिता परिर्वतन भएको छ ।

एआई प्रविधिको माध्यमबाट मतदाताहरुको व्यक्तित्व र उनीहरुको प्राथमिकताको जानकारी लिन सकिन्छ । र, त्यहि जानकारीअनुसार मतदाता केन्द्रित हुने गरि प्रचारप्रसार सामग्री र सन्देशलाई परिवर्तन पनि गर्न सकिन्छ ।

अहिले सन् २०२४ मा हुने अमेरिकी राष्ट्र्रपति चुनावमा जेनेरेटिभ एआईले प्रभावकारी रुपमा ठूलो असर गर्ने देखिएको विश्लेषकहरुले बताएका छन् । यो प्रविधिको प्रयोगबाट मतदाताको व्यक्तित्व र उनीहरुको सोचको आधारमा चुनावमा प्रयोग हुने प्रचार सामग्रीलाई ठूलो संख्यामा बनाउन सकिन्छ ।

यसको माध्यमबाट उम्मेदवारहरले सानो सानो समूहमा मानिसहरुलाई आफ्नो सन्देश पठाउन सक्छन् । यस्तो सन्देश जसमा उनीहरुको व्यक्ति र उनीहरुले चाहेअनुसारकै विषय समेटिएको हुनेछ ।

हूवर भन्छिन्, ‘उम्मेदवारले आफ्नो चुनावी अभियानका लागि ठूलो संख्यामा कन्टेन्ट राइटर ९लेखक० र रणनीतिकारहरुलाई नियुक्त गर्थे । उनीहरुको काम चुनाव प्रचारका लागि लेखिने इमेल वा पोस्टलाई विविधताअनुसार बनाएर मतदाताहरुलाई पठाउनु पर्ने हुन्थे । प्रचार सामग्रीलाई ठाउँ र मतदाताअनुसार विविधतापूर्ण बनाउँदा समय र खर्च दुवै धेरै हुन जान्थ्यो । तर, अब एआईको सहायताले यो काम निकै तीव्र र सस्तोमा हुने अवस्था सिर्जना भएको छ ।’

तर, प्रविधिको सहायताले सहजै र सस्तोमा प्रचार सामग्री निर्माण हुन्छ भने त्यसले जोखिम पनि ल्याउँछ । गलत व्यक्ति वा प्रतिस्पर्धिहरुले नै पनि यहि एआईको प्रयोग गरेर कुनै उम्मेदवारको व्यक्तित्वमाथि खराब पहिचान सिर्जना गर्ने र नोक्सान पुर्याउनेसम्म गर्न सक्छन् ।


चुनावमा कसरी हुन सक्छ एआईको प्रयोग ?

एआईको सम्भावित सदुपयोग र दुरुपयोगको विषयमा बर्कलीस्थित क्यालिफोर्निया विश्वविद्यालयमा सञ्चार विज्ञानका प्राध्यापक रहेका हनी फरीद यसले ठूलो प्रभा पार्ने बताउँछन् । उनी भन्छन्, ‘के तपाईंले त्यो समाचार हेर्नु भयो, जसमा एक महिलालाई फोन आएको हुन्छ । उनकी छोरीले आमालाई आफ्नो अपहरण भएको बताउँछिन् । महिलाले तत्कालै आफ्नो श्रीमानलाई फोन गर्छिन् । श्रीमानले उनलाई छोरी घरमै खेलिरहेको बताउँछन् । त्यसो भए महिलालाई फोन गर्ने को थियो त ? वास्तवमा एआईको प्रयोगबाट आवाजको नक्कल गरेर त्यो फोन गरिएको थियो । कसैले ती महिलाबाट पैसा असुल्ने कोसिस गरिरहेको थियो ।’

यो उदाहरण सुन्दा धेरैमध्येको एक लाग्छ । तर, यसले एआई प्रविधि कति हदसम्म विकसित भइसकेको छ भन्ने देखाउँछ । व्यक्तिको आवाज जस्ताको त्यस्तै नक्कल गर्न सक्ने गरि विकसित भएको एआईका कारण पहिचान गर्न पनि कठिनाई हुने अवस्था भइरहेको छ । यस्तोमा कुन कुरा सत्य हो र कुन कुरा असत्य हो भन्ने पनि छुट्याउन सकिदैंन ।

प्रविधिको विकासलाई नियाल्ने हो भने विगत २० वर्षमा कम्प्युटर र सफ्टवेयर बनाउने क्षमतामा तीव्र विकास भएको छ । जसकारण एआई प्रविधि र सफ्टवेयरहरु पनि छोटो समयमा निकै धेरै रुपमा विकसित भइसकेका छन् ।

फरीद भन्छन्, ‘पछिल्लो २० वर्षमा हाम्रो फोटो, भिडियो, आवाजजस्ता जानकारीहरु आफ्नै स्वीकृतिमा हामीले सामाजिक सञ्जालमा राखिरहेका छौं । जब तपाईं कुनै वेबसाइटमा जानुहुन्छ, तब तपाईको धेरै जानकारी त्यो वेबसाइटमा जान्छ । यो निकै फाइदाजनक व्यापार हो । अब मेसिनले नै तपाईंको वास्तविक आवाज र अनुहार चिन्न सक्छ । तपाईंको परिवारको जानकारी वेबसाइटसँग हुन्छ । सामाजिक सञ्जाल र अन्य वेबसाइटमा कैयौं मात्रामा व्यक्तिगत जानकारीहर रहेका छन् । र यीनै जानकारीलाई प्रयोग गरेर एआईको सहायताले मतदातालाई भ्रममा पार्न सकिन्छ ।’

सामाजिक सञ्जाल र अन्य वेबसाइटमा रहेका जानकारी र एआईको सहायताले मानिसको व्यक्तित्वको पहिचान सिर्जना हुन्छ । र यहि व्यक्तित्वको आधारमा उनीहरुसम्म विज्ञापन पुग्ने गर्छ । सामाजिक सञ्जाल वा कुनै पनि वेबसाइटमा तपाईंले हेर्न चाहेकै विज्ञापन देखिनुको कारण पनि यस्तै हो । यदि तपाईं कुनै स्थानमा जानका लागि टिकटको जानकारी लिनु हुँदैछ भने सामाजिक सञ्जालहरुमा तपाईंलाई त्यहि विषयसँग जोडिएका विज्ञापनहरु देखिन थाल्छन् ।

अब त झन जेनेरेटिभ एआईको सहायताले टेक्ट म्यासेज, फोटो, भिडियो र अडियोको प्रयोग गरेर पनि फेक कन्टेन्ट सहजै निमाण गर्न सकिन्छ । फरीद भन्छन्, ‘भ्वाईस क्लोनिङ (आवाजको नक्कल) पनि हुन थालेको छ । भिडियोमा ईसाई धर्मगुरु कुनै फर्जि बयान दिँदै गरेको देखिन्छन् र त्यो भिडियो संसारभर नै फैलिन्छ । जेनेरेटिभ एआईको सहायताले बनेका यस्ता कन्टेन्टहरु अहिले परिस्कृत भइरहेका छन् । केही व्यक्तिहरुले यस्ता सफ्टवेयरहरुको प्रयोग गरिरहेका छन्, जसमा कसैको पनि नियन्त्रण छैन । यो निकै चिन्ता जनक विषय हो ।’

फरिदकाअनुसार यस्ता सफ्टवेयरहरु सहजै उलपब्ध हुनुले यसको दुरुपयोग पनि बढिरहेको छ । जेनेरेटिभ एआईहरुमध्योम पनि पछिल्लो समय च्याटजीपीटीको चर्चाले यो क्षेत्रलाई नै नाटकिय रुपमा परिर्वतन गरेको छ । च्याटजीपीटी टेक्स्ट फर्मेटमा सामग्री निर्माण गर्न सक्छ, जसबाट भिडियो वा अडियो कन्टेन्ट निर्माण गर्न सकिन्छ ।

प्राध्यापक फरीद आगामी वर्ष हुने अमेरिकी राष्ट्रपतिय चुनावमा च्याटजीपीटीजस्ता एआईको सहायताले निर्माण भएका फर्जि सामग्रीहरुको प्रयोग बढ्ने आशंका व्यक्त गर्छन् । उनी चुनावमा प्रचार प्रसारको सामग्रीहरु फेक निर्माण गर्नेदेखि मतदातालाई भ्रममा पार्नेसम्मका घटनाहर देखिने बताउँछन् ।

र, यदि यसो भइहालेमा आफूलाई संसारकै उन्नत लोकतन्त्र भन्ने अमेरिका र लोकतान्त्रिक प्रक्रियाबाट छानिने राष्ट्रपतिकै निर्वाचनमा पनि क्षति हुने देखिन्छ ।

जेनेरेटिभ एआईको विषयमा चर्चित पुस्तक ‘डीपफेक’की लेखिका नीना शिक २०२४ को अमेरिकी चुनावसम्ममा यो प्रविधि अहिलेको भन्दा धेरै विकास हुने बताउँछन् । यस्तो विकासका कारण चुनावी अभियान एआईको प्रयोग बिना सम्भव नै नहुने उनको जिकिर छ ।

‘मलाई लाग्छ प्रचारको तरिकामा नभएर मानिसका लागि सन्देशमा नै परिवर्तन आउँछ,’ उनी भन्छिन्, ‘जेनेरेटिभ एआई हरेक मतदातालाई एकदमै व्यक्तिगत र नीजिकृत सामग्री पठाउन सक्छ । यसले राजनेता जनतासँग थप नजिकबाट जोडिन सहयोग गर्र्नेछ । कुनै पनि विषय वा मुद्दामा सार्वजनिक मत बन्नुअघि यो प्रविधिको प्रयोग चुनावमा नै हुनेछ ।’

केही सकरात्मक भएपछि शिकलाई पनि एआईका कारण मतदातामा भ्रम पुग्ने आशंका पनि छ । उनी यसअघिको चुनावमा पनि फर्जि भिडियोहरु सार्वजनिक भएको सम्झिन्छिन् ।

उनी भन्छिन्, ‘पछिल्लो चुनावमा पनि हामीले कैयौं फर्जि भिडियोहरु देखेका थियौं । डोनाल्ट ट्रम्प र जो बाइडेनको फर्जि भिडियो सामाजिक सञ्जालमा देखिएको थियो । यस्ता सामग्री प्रतिद्वन्द्वीबाट आउने मात्रै नभएर अरुले पनि बनाउन सक्छन् । तर, यस्ता सामग्रीले मतदातामा भ्रम पुग्ने र प्रचार सामग्री माथिको विश्वनियताप्रति आशंका सिर्जना हुने अवस्था भने अवश्य छ ।’