काठमाडौं, १ असार । चीनले नेपाललाई ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) र ग्लोबल सिभिलाइजेसन इनिसिएटिभ (जीसीआई) मा सहभागी हुन ताकेता गरेको छ । चीनले जीएसआईमा नेपालको सहभागिताका लागि तेस्रो पटक र जीसीआईमा सहकार्य गर्न पहिलो पटक आग्रह गरेको हो । नेपाल भने यी विषय सुरक्षा रणनीतिसँग जोडिएका कारण जीएसआईलाई अघि नबढाउने र जीसीआई नयाँ भएको कारण अध्ययनकै क्रममा रहेको जनाएको छ ।
सरकारी स्रोतका अनुसार नेपालले आधिकारिक रूपमा चीनलाई आफ्नो जवाफ भने दिइसकेको छैन । तर चीनले अघि सारेको विकाससम्बन्धी कार्यक्रम ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई) मा भने नेपालले सहकार्य गरिरहेको छ । जीएसआईमा सुरक्षासम्बन्धी कार्यक्रम रहेको र नेपालको परराष्ट्र नीति असंलग्न रहने तथा कसैको पनि सुरक्षा गठबन्धनमा नलाग्ने निचोडका कारण नेपालले उक्त कार्यक्रममा सहभागिता नजनाउने उल्लेख गरेको हो ।
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्साल चीनले ल्याएको ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई) मा नेपालले सहभागीता जनाए पनि जीएसआई सुरक्षासम्बन्धी विषयसँग पनि जोडिएको कारण अहिले अघि नबढाउने गृहकार्य भइरहेको बताउँछिन् । उनले नयाँ जीसीआईका बारेमा भने नेपाल अध्ययनकै क्रममा रहेको बताइन् । गत जेठ २९ मा चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग चीनले आफूले अघि सारेको जीएसआई र जीसीआईमा सहभागी हुन नेपाललाई आग्रह गरेको थियो ।