काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोट खेलमा सिंगापुरविरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको छ । कीर्तिपुर क्रिकेट मैदानमा जारी प्रतिस्पर्धामा ओपनर कुशल भुर्तेल र आसिफ शेखले ८४ रनको साझेदारी गरे । नेपालले १४६ रनको विजय लक्ष्य पछ्याइरहेको छ । यसअघि टस जितेर ब्याटिङ थालेको सिंगापुरले ९ विकेटको क्षतिमा १४५ रन बनाएको थियो ।
सिंगापुरका लागि रोहन रेन्गाराजनले सर्वाधिक ४६ रन बनाए । आर्यविर चौधरीले ३७ र मनप्रित सिंहले २४ रन बनाए । अक्षय पुरी १३ रनमा नटआउट रहे । अन्यले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । नेपालका लागि अभिनाष बोहोराले ३ विकेट लिए । यसैगरी सन्दीप लामिछाने, गुल्शन झा र करण केसीले दुई(दुई विकेट लिए । त्रिवि क्रिकेट मैदानमा उल्लेख्य संख्यामा दर्शकहरु उपस्थित छन् । उनीहरु राष्ट्रिय झण्डा बोकेर नेपाली क्रिकेटरहरुको हौसला बढाइरहेका छन् । यसअघि कानुनमन्त्री धनराज गुरुङले एम्पायरहरुलाई बल हस्तान्तरण गरेर खेलको सुरुवात गरेका थिए ।
एसिया छनोटमा एसियाका आठ देश सहभागी छन् । चार—चार टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । १९ कात्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल जित्दै फाइनल पुग्ने दुई टोली अर्को वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी—२० विश्वकपमा छनोट हुने छन् । आयोजक नेपाल समूह ‘ए’मा रहेको छ । यो समूहमा ओमान, मलेसिया र सिंगापुर रहेका छन् । समूह ‘बी’मा यूएई, बहराइन, कुबेत र हङकङ छन् ।
#PhotoByCricket Association of Nepal-CAN