काठमाडौं । अत्यावश्यक काममा बाहेक विपद्मा कर्मचारीहरू बिदामा नबस्ने भएका छन् । भर्खरै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सचिवस्तरीय बैठकले मनसुनजन्य विपद् व्यवस्थापनका लागि संयन्त्रहरू परिचालन गर्दै विपद्भरि कर्मचारीहरू अत्यावश्यकबाहेक अरू बेला बिदामा नबस्ने गरी निर्णय भएको छ ।
मन्त्रालयः निकाय, सुरक्षा निकाय, विकास साझेदार, संयुक्त राष्ट्रसङ्घीय निकाय, रेडक्रस अभियान तथा गैरसरकारी एवम् सामुदायिक संस्थाहरूले आवश्यक पूर्वतयारी तथा खोज, उद्धार र राहतका कार्यहरू गृह मन्त्रालय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा प्रभावकारी ढङ्गले गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।
लाइफलाइनु सडकमा भएका अवरोध तत्काल हटाउने व्यवस्था भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मिलाउने गरी निर्णय भएको छ ।
यस्तै डेङ्गी सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सबै सङ्घीय मन्त्रालय, निकाय तथा प्रदेश र पालिका तहका कार्यालयले लामखुट्टेको बासस्थान र लार्भा खोज तथा नष्ट गर्ने उद्देश्यले साउन, भदौ र असोज तीन महिना हरेक शुक्रवार बिहान साढे ९ बजेदेखि सरसफाइ कार्यक्रम तथा प्रचारप्रसार अभियान सञ्चालन गर्ने, सर्पदंशबाट हुने मृत्युदर घटाउन सचेतना, जोखिम न्यूनीकरण र उपचारको प्रभावकारी व्यवस्था स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्ने निर्णय भएको छ ।
यस वर्ष मधेश प्रदेशमा पर्याप्त पानी नपर्दा धान रोपाइँमा समस्या भइरहेको छ । विभिन्न ठाउँमा खानेपानीको हाहाकार भएको छ । सुक्खाजन्य विपद् उत्पन्न भएकोले खानेपानी तथा सिँचाइको तत्काल समस्या समाधानका लागि आवश्यक पहल र समन्वय गर्न गृह मन्त्रालयले मधेश प्रदेशका सबै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिने निर्णय भएको छ ।