काठमाडौं । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझमा धन, ऐश्वर्य र सम्पन्नताकी अधिष्ठात्री देवी लक्ष्मीको भक्तिपूर्वक पूजा आराधना गरी लक्ष्मीपूजा मनाइँदै छ । लक्ष्मीलाई धन र समृद्धिको देवी मानिन्छ ।
धार्मिक विश्वासअनुसार सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन्, त्यसैले आज बिहानै उठेर घर, आँगन, झ्यालढोका र सम्पूर्ण घरपरिवार सफा गरी फूलमालाले सजाउने चलन रहेको छ ।
यस दिन श्रद्धालुहरू दिनभर उपवास बसेर बेलुका दीपावली गरेर नुहाइधुवाई गरी धनलक्ष्मी, धान्यलक्ष्मी, गजलक्ष्मी, सन्तानलक्ष्मी, विद्यालक्ष्मी, विजयलक्ष्मी, ऐश्वर्यलक्ष्मी र धैर्यलक्ष्मीका रूपमा देवीको पूजा आराधना गर्छन् ।
स्कन्द पुराण, पद्य पुराण र विष्णु पुराणमा उल्लेख भएअनुसार यी आठ रूपहरूले जीवनका आर्थिक, ज्ञान, शक्ति, परिवार, सफलता, धैर्य, खेती र विजयका पक्षहरूलाई प्रतिनिधित्व गर्छन् ।
कात्तिक कृष्ण औँसीको रातलाई ‘सुखरात्रि’ पनि भनिन्छ । यस दिन बेलुका आँगनदेखि मूलढोका हुँदै पूजा कोठासम्म गाईको गोबर र रातो माटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाइन्छ । पाइलैपिच्छे केराको सुत्लो वा माटाको पालामा दियो बालेर लक्ष्मीको आगमनको बाटो देखाइन्छ ।