काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले सरकारले स्वदेशमै प्रयोग हुनुपर्छ भन्ने मान्यतालाई प्राथमिकता दिने बताएका छन् । उनले स्वदेशमा अवसर छैन भनेर विदेशमा गएर आफ्नो उन्नति गर्न चाहनेका लागि सरकारले ढोका बन्द गर्न नसक्ने बताए ।
प्रतिनिधिसभाको अर्थ समितिसँग अर्थतन्त्रमा अहिलेको सूचकहरूका शनिबार सिंहदरबारमा भएको छलफलमा अर्थमन्त्री महतले नेपालमै अवसरहरुको सिर्जना गर्ने कुरामा सरकारको ध्यान केन्द्रित गर्ने बताए ।
स्वदेशमा अवसरै छैन भने विदेशमा गएर आफ्नो उन्नति गर्ने ढोका बन्द गर्नुहुँदैन । तर हामी नेपालमै अवसरहरु सिर्जना गर्दै लैजाने हो । यो कुरालाई हामीले प्राथमिकतामा राख्नुपर्छ, यसमा दुई मत छैन, उनले भने, युवाहरुको क्षमता छ, देशभित्रै प्रयोग हुनुपर्छ भन्ने मान्यतालाई हामी प्राथमिकतामा राख्छौं ।
उनले स्वेदशी उत्पादन कसरी बढाउने भन्ने कुरालाई प्राथमिकतामा राख्नुपर्ने बताए । नेपालमा अहिले जुन उद्योग व्यवसाय छ, त्यसमा धेरैजसो हाम्रो भ्यालु एडिसन कम छ । हामी चाहन्छौं, यो भ्यालु एडिसन ज्यादाभन्दा ज्यादा देशभित्र नै होस् भन्ने कुरा प्राथमिकतामा रहन्छ । नेपाली उद्योग व्यवसायीलाई प्रमोट गर्ने जस्ता कुरालाई आउँदो बजेटमा प्राथमिकता दिन्छौं, बढीभन्दा बढी नेपाली उद्योग व्यवसायलाई प्रवर्द्धन गर्ने नीतिमा हामी जान्छौं, उनले भने ।
उनले आफू अर्थमन्त्री भएपछि दुई महिनामै सबै समस्याहरु समाधान गर्छु भनेर एक्लै भाषण गर्ने प्रवृत्तिको नभएको दाबी गरे ।
ज्ञान र अनुभवलाई म उपयोग गर्छु । म ठूलो स्वरमा कुरा गर्दिनँ । सुधारको आवश्यकता छ, यसलाई इमानदारीका साथ काम गर्छु । तर दुई महिनाभित्र मेरो ज्ञान र अनुभव उपयोग गरेर सारा समस्या सफाचट हुन्छ म भन्दिनँ । अवश्य पनि नीति कार्यक्रममा क्रमशः सुधारहरु गरिनेछन् । धेरैजसो यसपालि गरिनेछ, कतिपय कुरा क्रमशः गरिँदै लगिनेछ, उनले भने ।
उनले आफू अर्थमन्त्री भएपछि सरकारले कोही एउटा व्यवसायी वा उद्योगीको फाइदामा भन्दा पनि समग्र देशको आर्थिक उन्नतिका लागि काम गर्ने बताए ।
ुसमग्र उद्योग व्यवसाय, समग्र अर्थतन्त्रको कुरा मेरो प्राथमिकतामा छ । एउटा व्यक्ति, व्यवसायको फाइदाका लागि मबाट केही हुँदैन । पूँजीगत खर्च, राजस्व परिचालनले गुणस्तरीय उत्पादन यसबाट हुन्छ कि हुँदैन भन्ने मेरो सम्पूर्ण ध्यान केन्द्रित हुनेछ । मैले आफ्नो टिममा यी कुरा बलियोसँग राखेको छु, उनले भने, ुसिस्टमबाट आएका कुरा ठीक छन् कि छैनन् ? यी सबै कुरा दिनरात म हेरिरहेको छु । यहाँ राजनीतिक दल यो वा त्यो भनेर हेरेको छैन । यहाँ देश र जनताको कुरा छ । म व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गर्छु ।ु
बैठकमा एमाले सांसद सूर्यबहादुर थापा, पदम गिरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, राप्रपाका सांसद ज्ञानेन्द्र शाहीलगायतले अर्थमन्त्रीलाई प्रश्न गरेका थिए ।