काठमाडौं । बोर्ड सदस्यहरूसँग प्रभावकारी समन्वय गर्न नसकेको भनी आफ्नो पदबाट हटाइएका आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी ओपनएआईका पूर्व प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यान पुन: सोही भूमिकामा कम्पनीमा फर्किने भएका छन् । पाँच दिनअघि प्रविधि जगतलाई नै आश्चर्यमा पार्दै आफ्नो नेतृत्व परिवर्तनको घोषणा गरेको ओपनएआईले हाल सामको कम्पनी फिर्तीको घोषणा गरेको छ ।
अल्टम्यानलाई हटाउने निर्णयमा बोर्ड पुगेपछि ओपनएआईका तत्कालिन बोर्ड अध्यक्ष ग्रेग ब्रोकम्यानले पनि आफ्नो पदबाट राजिनामा दिएका थिए । त्यति मात्रै होइन, कम्पनीका सयौं कर्मचारीहरूले अल्टम्यानको बर्खास्तीको विरोधमा राजीनामा दिने दिने बताएका थिए ।
उनको फिर्तीको माग गर्दै निवेदनसमेत दिएका थिए । तत्कालीन बोर्डले अल्टम्यानको ठाउँमा नियुक्त गरेकी मिरा मुरातीसमेत 'आफ्ना कर्मचारी नभएमा ओपनएआई केही रहन्न' भन्ने सन्देशसहित सामलाई फिर्ता बोलाउने अभियानमा मिसिन पुगिन् ।
यस्ता दबाबपश्चात ओपनएआईले ट्वीचका पूर्वप्रमुख इम्मेट शियरलाई अन्तरिम प्रमुख बनाउने निर्णय गरेको थियो । ओपनएआईको ४९ प्रतिशत शेयर स्वामित्व रहेको माइक्रोसफ्टले भने बर्खास्तीमा परेका अल्टम्यान र ब्रोकम्यान दुवैलाई आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स ल्याबको नेतृत्व तहमा भर्ती गराउने घोषणा सोमबार गरेको थियो ।
ओपनएआईले अल्टम्यान फर्किने घोषणा गर्दै एक्समा लेखेको छ, 'हामी साम अल्टम्यान प्रमुख कार्यकारी अधिकृतकै रूपमा ओपनएआईमा फर्किने सैद्धान्तिक सहमतिमा पुगेका छौं र अबको बोर्डमा ब्रेट टेलर, ल्यारी समर्स र एडम डिएन्जेलो रहनुहुनेछ ।' टेलर अर्को प्रविधि कम्पनी सेल्सफोर्सका पूर्व प्रमुख हुन् भने समर्स अमेरिकी पूर्वमन्त्री र डिएन्जेलो कोराका संस्थापक हुन् । आफूले ओपनएआईलाई माया गर्ने उल्लेख गर्दै एक्स पोस्टमा साम अल्टम्यानले नयाँ बोर्ड र माइक्रोसफ्ट प्रमुख सत्य नाडेलाको सहयोगमा काम गर्न आफू आतुर रहेको उल्लेख गरेका छन् ।